नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेकपा (माओवादी केन्द्र)मा वैचारिक विचलन गहिरिँदै गएको बताएका छन्।
एमालेको केन्द्रीय कमिटी बैठकमा आइतबार ओलीले राजनीतिक प्रतिवेदनमार्फत अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' सरकारबाट बाहिरएसँगै माओवादीमा वैचारिक विचलन गहिरिँदै गएको बताएका हुन्।
ओलीले प्रचण्डले प्रधानमन्त्री हुँदा बोलेको र प्रधानमन्त्रीको कुर्सीबाट हटेको दुई साता नबित्दैदेखि दिएको अभिव्यक्ति र त्यसछिको क्रियाकलापले माओवादी केन्द्रमा वैचारिक विचलन गहिरिँदै गएको पुष्टि हुने बताएका हुन्।
'असार ३० साँझसम्म प्रधानमन्त्रीकै कुर्चीमा रहेका र कुर्ची रहँदासम्म 'देश समृद्ध बन्दै गरेको’, ‘अर्थतन्त्र लयमा फर्किएको' र 'निराशाको मात्रै कुरा गर्न नहुने' भाषण गरिरहेका 'प्रचण्ड' बाट सरकारबाट हटेको साता नबित्दै संसदको रोष्ट्रमबाट नेपाल 'बङ्गलादेश' जस्तै बन्ने अभिव्यक्ति आयो,' ओलीले प्रस्तुत गरेको प्रतिवेदनमा उल्लेख छ।
ओलीले प्रचण्डको उक्त अभिव्यक्तिलाई अत्यन्त गैरजिम्मेवार, गैर-कुटनीतिक र अशोभनीय टिप्पणी मात्रै नभई राजनीतिक अवसरवादको भद्दा नमूनाका रूपमा विश्लेषण गरेका छन्।
त्यस्तै कोशी प्रदेशको नामाकरणलाई लिएको भएको विवाद र त्यसमा माओवादी केन्द्रले खेलेको भूमिकाबारे पनि ओलीले टिप्पणी गरेका छन्।
'माओवादी–केन्द्र एक वर्ष अगाडि आफ्नै प्रदेशसभा सदस्यहरूको समेत सहभागितामा नामाकरण गरिएको 'कोशी' को विरुद्ध उग्र जातीयतावादी समूहहरूसँग मोर्चाबन्दी गरिरहेकाले ऊ राष्ट्रिय एकता र सामाजिक सद्भावमा आँच पुऱ्याउन उद्दत देखिएको छ,' प्रतिवेदनमा ओलीले भनेका छन्।
त्यतिमात्रै होइन पूर्व राजावादीहरूसँग पनि माओवादीको बाक्लै उठबस रहेको र हिजो सरकारमा रहँदा आफैले कार्बाही गरेका व्यक्तिहरू र समूहको खुल्ला समर्थनमा उत्रिएको बताएका छन्।
'प्रधानमन्त्रीको चीन भ्रमण र हिजो आफ्नै कार्यकालमा भएको सम्झौतालाई समेत विवादित बनाउन उद्दत देखिएको छ,' ओलीले भनेका छन्, 'यी घटनाक्रमहरू माओवादी केन्द्रमा गहिरिँदै गरेको वैचारिक विचलन, राजनीतिक अस्थिरता, अवसरवाद र सरकारबाट बाहिरिनु परेका पीडाका अभिव्यक्ति हुन्।'