नेकपा माओवादी केन्द्रले विशेष महाधिवेशन नगर्ने भएको छ। आइतबार काठमाडौंमा सुरू भएको केन्द्रीय कमिटी बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले नवौं महाधिवेशनको प्रस्ताव गरेका हुन्।
माओवादी केन्द्रले विधानको व्यवस्था अनुसार २०८३ सालसम्म नवौं महाधिवेशन गर्नुपर्ने हुन्छ। यसअघि गत वर्ष बसेको केन्द्रीय कमिटी बैठकले ६ महिनामा पार्टीको विशेष महाधिवेशन गर्ने निर्णय गरेको थियो।
त्यसअघि २०७८ पुसमा भएको राष्ट्रिय सम्मेलनलाई माओवादीले पार्टीको आठौं महाधिवेशनमा रूपान्तरण गरेको थियो। त्यही महाधिवेशनबाट प्रचण्ड अध्यक्ष चयन भएका थिए। त्यस बेला नै माओवादीको नयाँ नेतृत्व र विधिका लागि विशेष महाधिवेशन गर्ने निर्णय गरेको थियो।
तर आइतबार अध्यक्ष प्रचण्डले अब माओवादीमा विशेष महाधिवेशन नहुने स्पष्ट सन्देश दिएका छन्। उनले राजनीतिक प्रतिवेदन पेस गर्दै केन्द्रीय कमिटीको यही बैठकले नवौं महाधिवेशनको मिति तोक्ने या ६ महिना अभियान चलाएपछि महाधिवेशनको मिति तोकेर जाने भन्ने निर्णय गर्ने जिम्मा केन्द्रीय कमिटीको भएको बताएका छन्।
'अब हामी नवौं महाधिवेशनमा जान्छौं,' अध्यक्ष प्रचण्डले प्रतिवेदनमा भनेका छन्, '६ महिना जनजागरण अभियान चलाएर महाधिवेशनको मिति तोक्ने कि यही केन्द्रीय कमिटीलाई आयोजक कमिटी मानेर महाधिवेशनको मिति तोकेर जाने निर्णय गरौं।'
उनले ६ महिना जनतासँग माओवादी अभियान चलाएपछि मात्रै महाधिवेशनमा लाग्न उपयुक्त हुने पनि बताएका छन्।
प्रचण्डले फागुन १ गतेदेखि मेची महाकाली र लगत्तै मध्यपहाडी लोकमार्गमा जनजागरण अभियान चलाउन पनि प्रस्ताव गरेका छन्।
यस्तै उनले काठमाडौं उपत्यका, मधेस र प्रवासमा पनि पार्टीको विशेष अभियान चलाउन पर्ने बताएका छन्।
प्रचण्डले प्रदेशहरूमा भएका विशेष छलफल र त्यहाँ नेता कार्यकर्ताहरूले दिएको सुझावका आधारमै आफूले राजनीतिक प्रतिवेदन तयार पारेको पनि बैठकलाई बताए।
'यसअघि अन्तर्राष्ट्रिय अभ्यास र पार्टीहरूको दस्ताबेजका आधारमा राजनीतिक प्रतिवेदन तयार पारिन्थ्यो। उनीहरूले गरेका कामलाई उदाहरणका रूपमा हेर्ने गरिन्थ्यो,' अध्यक्ष प्रचण्डले भने, 'यसपटक प्रदेशमा जाँदा एक महिनाका बीचमा ६१९ जना कमरेडहरूले राखेको सुझाव पढेको आधारमा मैले राजनीतिक प्रतिवेदन तयार पारेको छु।'
उनले केन्द्रीय कमिटी बैठकमा आएका सुझावहरू र फरक मतलाई नवौं महाधिवेशनले सम्बोधन गर्ने पनि बताए।