राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक सम्पन्न भएको छ।
शनिबार र आइतबार काठमाडौंको स्वयम्भूस्थित स्टार ब्यांक्वेटमा भएको समितिको बैठकमा भएका गतिविधिबारे पार्टीका कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिएका छन्।
बैठकमा कार्यवाहक सभापति डिपी अर्याल, उपसभापति स्वर्णिम वाग्लेले समसामयिक राजनीति र पार्टीका गतिविधिबारे जानकारी गाएका थिए। त्यस्तै बैठकमा सभापति रवि लामिछानेविरूद्धका अदालती प्रक्रिया र पछिल्लो अवस्थाबारे पनि जानकारी दिइएको थियो।
बैठकले नेपालकी प्रथम महिला राजदूत विन्देश्वरी शाह प्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको छ।
उपनिर्वाचनको समीक्षाको प्रतिवेदन पनि पारित भएको थियो।
त्यस्तै बैठकले केन्द्रीय सदस्यको नेतृत्वमा पार्टीको संगठन निर्माण अभियान सञ्चालन गर्ने निर्णय गरेको प्रवक्ता झाले बताए।
अभियानमा केन्द्रीय विभाग, प्रदेश समिति, प्रदेश विभाग, जिल्ला/निर्वाचन क्षेत्र समिति समेतको सहभागिता रहने र अभियानले सदस्यता विस्तारका साथै पालिका तथा वडा समितिहरू निर्माण गर्न जिल्ला समिति तथा पालिका समितिहरूलाई सहजीकरण गर्ने निर्णय भएको छ। अभियान माघ २ गतेदेखि सुरू हुने र दुई महिनासम्म सञ्चालन गर्ने रास्वपाले जनाएको छ।
पार्टीको राजनीतिक प्रशिक्षण पाठ्यक्रम केन्द्रीय सदस्यहरूको सुझावसहित पारित भएको र केन्द्र देखि पालिका तहसम्म सञ्चालन गर्ने निर्णय भएको झाले बताए।
त्यसैगरी प्रमुख सचेतक सन्तोष परियारको संयोजकत्वमा 'संविधान परिमार्जन सुझाव कार्यदल, २०८१' गठन भएको छ। सो कार्यदलले संविधान परिमार्जनका लागि सुझाव संकलन गर्न सातै प्रदेशमा छलफल चलाउने र संविधानविद् एवं सरोकारवालासँग आवश्यक परामर्श गरी दलको तर्फबाट धारणा सार्वजनिक गर्ने भनिएको छ। कार्यदलमा केन्द्रीय सदस्यहरू क्रान्तिशिखा धिताल, नन्दन यादव, गणेश कार्की, सोबिता गौतम, गणेश पराजुली, असिम शाह, कुसुम महर्जन र मेघ आले छन्।
गत मंसिर ११, १२ र १३ गते जलेश्वरमा बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकबाट पारित पार्टीको राजनीतिक प्रस्तावनाका सम्बन्धमा उपसभापति स्वर्णिम वाग्लेले व्याख्यात्मक दस्तावेज प्रस्तुत गरेका थिए। उक्त दस्तावेजलाई पार्टीको राजनीतिक प्रशिक्षणमा प्रयोग गर्ने गरी पारित भएको छ।
त्यस्तै पार्टीको कार्यसम्पादनलाई प्रभावकारी बनाउन पार्टी महामन्त्रीको संयोजकत्वमा सहमहामन्त्री पदेन रहने गरी केन्द्रीय सदस्य, केन्द्रीय सल्लाकार र केन्द्रीय विभाग सदस्य सम्मिलित केन्द्रीय कार्यसम्पादन इकाई गठन गर्ने निर्णय भएको छ।
त्यस्तै पार्टीको बैठकले विभिन्न समयमा बनाएका समिति, कार्यदलहरूको प्रयोजन पूरा भएको भन्दै विघटन गरेको छ।
नीति विचार कार्यदल, २०८०, केन्द्रीय उपनिर्वाचन परिचालन समिति, २०८१, विधान संशोधन सुझाव कार्यदल, २०८१ र केन्द्रीय समिति सदस्य सिफारिस समिति, २०७९ विघटन गरेको हो।
पार्टीले संघीय सदन बाहिर रहेका राजनीतिक दल/शक्तिहरूका जनपक्षीय र राष्ट्रहितका आवाजलाई सदनमा प्रतिनिधित्व गर्ने भन्दै आवश्यक कार्य अगाडि बढाउने निर्णय गरेको झाले बताए।
अन्तिममा विभिन्न विषयहरूमा राजनीतिक, बौद्धिक परामर्शका लागि पार्टी केन्द्रीय तहमा सल्लाहकार परिषद्/ थिंकट्यांक सदस्यहरू मनोनित गर्दै जाने पनि निर्णय गरेको छ।