नेपाल पत्रकार महासंघको निर्वाचनबाट निर्वाचितहरूलाई नेपाली कांग्रेस मधेस प्रदेश प्रचारप्रसार समितिले बधाई दिएको छ।
कांग्रेसको जनकपुरधामस्थित कार्यालयमा आइतबार भएको कार्यक्रममा मधेसका आठ वटै जिल्लामा नेपाल प्रेस युनियन र प्रेस चौतारीको संयुक्त प्यानलबाट निर्वाचित भएकाहरूलाई बधाई र सम्मान गरिएको सञ्चार तथा प्रचार प्रसार विभाग प्रमुख नितेशकुमार गुप्ताले जानकारी दिए।
मधेस कांग्रेस सभापति कृष्णप्रसाद यादवले लोकतन्त्रको आधार स्तम्भ नै पत्रकारिता क्षेत्र भएको बताउँदै पत्रकारिता क्षेत्र कमजोर भएमा लोकतन्त्र कमजोर हुने बताए।
नेपाल पत्रकार महासंघका आठ वटै जिल्ला र प्रदेशमा निर्वाचित भएका पत्रकारलाई लोकतन्त्रलाई बलियो बनाउने पक्षमा निरन्तर रूपमा निर्भिक भएर कलम चलाउन पनि उनले आग्रह गरेका छन्।
कांग्रेस मधेस उपसभापति वीरेन्द्रप्रसाद सिहले पत्रकार समाजको ऐना भएको बताए।
मधेस सरकारका अर्थमन्त्री सुनिलकुमार यादवले मधेसलाई अन्य प्रदेशको दाँजोमा सम्मुन्नत बनाउन पनि पत्रकारहरूबाट आउने सुझावको अपेक्षा गरिएको बताए।