नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को केन्द्रीय समितिको बैठक आजदेखि सुरू हुँदैछ।
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आइतबार अपराह्न १ बजेदेखि बस्ने बैठक सुरू हुने प्रवक्तासमेत रहेका उपाध्यक्ष अग्नी सापकोटाले जानकारी दिए।
बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रस्तुत गर्ने राजनीतिक तथा साङ्गठनिक प्रतिवेदनमाथि छलफल हुने उनले बताए।
यसअघि बसेको स्थायी समिति बैठकले अध्यक्ष दाहालबाट ‘पार्टी रुपान्तरण र पुननिर्माणको सङ्कल्प : आजको आवश्यकता’ शीर्षकको राजनीतिक प्रतिवेदन पेस हुने टुङ्गो लगाएको थियो।
केन्द्रीय कमिटी बैठकको प्रारम्भमा अध्यक्ष प्रचण्डले पछिल्लो राजनीतिक परिस्थितिका बारेमा ‘ब्रिफिङ’ गर्ने र लगत्तै उनीबाट प्रस्तुत प्रतिवेदनमाथि छलफल हुनेछ ।
केन्द्रीय समिति बैठक सञ्चालनको ‘मोडालिटी’ टुङ्गो लगाउन आइतबार बिहान ८ बजे स्थायी समिति बैठक बस्नेछ।
केन्द्रीय कमिटी बैठकमा ४०९ केन्द्रीय सदस्य, २०५ जना वैकल्पिक केन्द्रीय सदस्य, तीन आयोगबाट ७५ तथा सात भौगोलिक र तीन गैरभौगोलिक गरी १० प्रदेशका पदाधिकारी गरी १२५ जनाको समेत सहभागिता रहनेछ।