नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले निजी क्षेत्रलाई अख्तियार दुरूपयोग अनुसन्धान आयोगको फन्दामा पर्नसक्ने खतराबाट जोगाइएको बताएका छन्।
शनिबार नेपाल राष्ट्रिय व्यवसायी महासंघको सातौं वार्षिक साधारणसभा तथा तेस्रो महाधिवेशनको उद्घाटन समारोहमा अध्यक्ष प्रचण्डले निजी क्षेत्रको साना व्यवसायीहरुको पनि सबै हिसाबकिताब अख्तियारले हेर्ने कुरा आएकोमा त्यसलाई राज्य व्यवस्था तथा सुशासन समितिबाट फेल गराइएको बताएका हुन्।
त्यसका लागि साना व्यवसायीहरूले समितिका सभापति रामहरि खतिवडालाई पनि धन्यवाद दिनुपर्ने उनले बताए।
'निजी क्षेत्रमा अख्तियार आउन नदिने भयौं हामीले। त्यो सबै मिलेर वातावरण बनायौं,' अध्यक्ष प्रचण्डले भने, 'यसका लागि तपाईंहरूलाई बधाई भन्न चाहन्छु, बँच्नुभयो।'
प्रचण्डले अर्थतन्त्र कमजोर भएको बेलामा साना व्यवसायीहरूलाई सहुलियत दिनुपर्ने ठाउँमा अहिलेको सरकारले उल्टै निचोर्ने काम गरिरहेको पनि आरोप लगाए।
'सहुलियत दिएर अप्ठ्यारो अर्थतन्त्रलाई सहजीकरण गर्ने जिम्मेवारी राज्यको हुनुपर्नेमा अझ तिनलाई निचोर्ने, तिनलाई अझै दुहुने र त्यहीँबाट आर्थिक समस्या हल गर्न खोज्ने प्रवृत्ति छ, समस्याको चुरो त्यही हो,' उनले भने।
व्यवसायीहरूले उठाएका मागहरूलाई ऐनमा व्यवस्था गर्न प्रतिनिधि सभाबाट जोडदार आवाज उठाउने पनि प्रचण्डले बताए।