नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द 'विप्लव' ले कम्युनिस्ट पार्टीहरूले एकता र ध्रुविकरणका कुरा उठाएपनि के का लागि भन्ने स्पष्ट नभएको बताएका छन्।
शनिबार प्रज्ञा भवनमा आयोजित कार्यक्रममा चन्दले माओवादी केन्द्र गणतन्त्रपछि लगातार सत्तामा रहेको र तीन पटकसम्म प्रधानमन्त्री हुँदा जनताले के पाए र अब ध्रुविकरण गरी बहुमत ल्याउँदा के पाइन्छ भन्ने जिज्ञासा जनतामा रहेको बताएका हुन्।
'माओवादी केन्द्रले पनि ध्रुवीकरणको कुरा गरिरहेको छ । तर माओवादी केन्द्रबाट तीन पटक प्रधानमन्त्री भइसकेको छ। अरू थुप्रै अवसर पाएको छ। गणतन्त्रपछि लगातार १५ वर्ष माओवादी नेपालको सत्तामा छ। तर माओवादीले जनतालाई के दिन्छ त्यहाँपनि जनताको जिज्ञासा छ,' उनले भने।
त्यसकारण कम्युनिस्ट एकता र ध्रुविकरणको नेतृत्व नेकपाले गर्ने उनले बताए। 'क्रान्तिकारीहरूबीच ध्रुवीकरण गर्दै देशको नेतृत्व गर्न चाहन्छौं। एक चोटी यो देशको नेतृत्व र सेवा गर्न नेकपा चाहन्छ भन्ने कुरा हामीले राखेका छौं,' उनले भने।
एकता र ध्रुविकरण भ्रष्टाचारका लागि नहुने पनि उनले बताए।
'यो एकता कुनै दरबार खानका लागि होइन। टि-इस्टेट खानका लागि पनि होइन, सरकारको जग्गा हिनामिना गर्नका लागि पनि होइन, मन्त्री भएर यो देशको पैसा विदेशमा लुकाउन होइन,' उनले भने।
यद्यपि पार्टीले जिम्मा दिँदा आफूहरू संसदमा गएको र कोही मन्त्री पनि भएको उनले बताए।
'तर जुनदिन नेपालको स्वाधिनताको विरूद्धमा षड्यन्त्र भए। नेपाली जनताको अधिकारलाई छिन्ने षड्यन्त्र चल्यो, उत्पीडित जाति, समुदायको अधिकार छिन्नेतिर गयो, महिलाहरूको अधिकार छिन्नेतिर गयो त्यसपछि हामीले संसद र मन्त्री हेरेनौं,' उनले भने।
त्यतिबेलाका संसदमा पुगेका दुई दर्जनभन्दा बढी नेताहरू अहिले नेकपामा आबद्ध रहेको उनले बताए।