नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघका अध्यक्षले छानबिन र कारबाहीको माग गर्दै पार्टीमा उजुरी दिएका छन्।
नेविसंघका अध्यक्ष दुजाङ शेर्पामाथि व्यक्तिगत खातामा पैसा जम्मा गरेर हिनामिना गरेको आरोप लागेको थियो। सोही विषयमाथि छानबिन र कारबाहीको माग गर्दै उनले पार्टीको सुशासन समितिमा उजुरी दिएका हुन्।
'ममाथि बिना प्रमाण झुटा आरोप, आर्थिक अपचलनको लान्छना लगाई चरित्र हत्या गरी संघको छवि समेत धुमिल गर्न गरिरहेको दुष्प्रयास, संगठनको विधि र पद्धति समेतको धज्जी उडाउने, विद्यार्थी आन्दोलनमाथि चौतर्फी आक्रमण भइरहेको छ,' उनले भनेका छन्।
नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघमा संस्थापन पक्ष र संस्थापनइतर पक्षबीच विभिन्न विषयमा मतान्तर देखिएका छन्।
सदस्यता वितरणका लागि केन्द्रीय प्रतिनिधि तोक्ने विषयलाई लिएर उत्पन्न विवादबीच संस्थापनइतर समूहले पनि बेग्लै केन्द्रीय प्रतिनिधि तोकेको थियो।
पुस ७ गतेदेखि देशभरका क्याम्पसहरूमा नेविसंघको सदस्यता अभियान भइरहेको छ भने संस्थापनइतर पक्षले पनि अधिवेशनजस्ता गतिविधि गरिरहेका छन्।
नेता शेखर कोइरालानिकट विद्यार्थीहरूले नेविसंघ अध्यक्ष दुजाङ शेर्पामाथि आर्थिक हिनामिनाको आरोप लगाउँदै विज्ञप्ति जारी गरेका थिए।
केन्द्रीय सदस्य प्रेमिका राना मगरले शुक्रबार जारी गरेको विज्ञप्तिमा विद्यालय पुनर्निर्माणका लागि संकलित रकम पनि व्यक्तिगत खातामा राखेर हिनामिना गरेको आरोप छ।
‘अध्यक्ष दुजाङ शेर्पाले २०८० कार्तिक १७ गते जाजरकोटमा आएको भूकम्पबाट क्षतिग्रस्त नलगाड नगरपालिका ५ मा रहेको नेपाल राष्ट्रिय प्राथमिक विद्यालय पुनः निर्माण गर्ने जिम्मा नेविसंघले लिएको घोषणा जाजरकोटमै पुगेर गरेको स्मरण गराउँदै उक्त विद्यालय हालसम्म अलपत्र रहेको र तत्कालीन समयमा नेपाल राष्ट्रिय प्राथमिक विद्यालय पुनःनिर्माणका लागि संकलित रकमको हिसाब समेत सार्वजनिक नगरी व्यक्तिगत खातामा रकम संकलन गरेर आर्थिक हिनामिना भएको समेत सबैमा जानकारी गराउँदछौं,’ विज्ञप्तिमा उल्लेख छ।
जय नेपाल कपको नाममा भइरहेको आर्थिक लेनदेन, चन्दा असुली रोक्न र विद्यालय पुनःनिर्माणका लागि यसअघि संकलित रकमको हिसाबकिताब सार्वजनिक गरी जाजरकोटमा भूकम्पको समयमा घोषणा गरिएको क्षतिग्रस्त विद्यालय पुनः निर्माणमा जुट्न पनि उनले आग्रह गरेकी छन्।
‘सिंगो नेविसंघ केन्द्रीय कार्यसमितिलाई स्व. सरिता सिंहको स्मृतिमा जाजरकोटको नलगाडमा राष्ट्रिय प्राथमिक विद्यालय पुनःनिर्माणको कार्यमा लगाउन ध्यानाकर्षण गराउँदछौं,’ उनले भनेकी छन्।
आर्थिक लेनदेन, चन्दा संकलन र गैरसांगठनिक क्रियाकलापमा अध्यक्ष शेर्पा अग्रसर भएको आरोप संस्थापनइतर विद्यार्थीहरूको छ।