अबदेखि तुलसीपुरमा मेला-महोत्सव लगाउने कुनै पनि संघ संगठनले तुलसीपुर उपमहानगरपालिकालाई २५ लाख रुपैयाँ राजश्व बुझाउनु पर्ने भएको छ।
शुक्रबार उपमहानगरका मेयर टीकाराम खड्काको अध्यक्षतामा बसेको २८औं कार्यपालिका बैठकले उक्त निर्णय गरेको हो। यसअघि मेला-महोत्सव लगाउने संघ संगठनहरूले उपमहानगरमा एक लाख रुपैयाँ धरौटी राख्नु पर्ने प्रावधान थियो।
यस्तै कार्यपालिका बैठकले तुलसीपुर चेम्बर अफ कमर्सलाई मेला लगाउन अनुमति प्रदान गरेको आर्थिक समितिका संयोजक तथा वडा नम्बर १८ का वडाध्यक्ष माधव वलीले जानकारी दिए।
‘अबदेखि जसले मेला-महोत्सव लगाउँछ उसले राजश्वबापत् २५ लाख रुपैयाँ उपमहानगरलाई बुझाउनुपर्ने छ,’ उनले भने, ‘बैठकले चेम्बर अफ कमर्सलाई यो पटक मेला लगाउन दिने अनुमति समेत दिएको छ।’
माघ २१ गतेदेखि हिउँदे अधिवेशन सुरू गर्ने तथा माघ महिनामै मेयर कप खेलकुद प्रतियोगिता सुरू गर्ने कार्यपालिकाले निर्णय गरेको छ।
युथ अफ तुलसीपुरका अध्यक्ष अरूण लहरेले तुलसीपुर उपमहानगरको यो निर्णय बेमौसमी बाजा मात्रै भएको प्रतिक्रिया दिए।
‘मैले पनि विगतमा मेला लगाएको हुँ,’ उनले भने ‘ मनोरञ्जन कर भनेर एक लाख रुपैयाँ बुझाए पुग्थ्यो तर अहिले यति चर्को गर्नु आतंक हो।’
दिनुपर्ने सेवा सुविधा उपमहानगरले दिन नसकेको तर हरेक शीर्षकमा चर्को कर मात्रै लिएको उनको आरोप छ।