उदयपुरको वेलका नगरपालिकामा करार कर्मचारी नियुक्तिको विषयलाई लिएर नेकपा (एमाले) ले प्रमुख प्रशासकीय अधिकृत र सूचना अधिकारीको कोठामा तालाबन्दी गरेको छ।
जागिरका लागि सिफारिस भएको व्यक्ति र हाजिर हुन आएका व्यक्ति फरक रहेको भेटिएपछि छानबिन गर्न माग गर्दै प्रमुख प्रशासकीय अधिकृतको कोठामा तालाबन्दी गरिएको नगर कमिटीका एमाले अध्यक्ष हिराजंङ राईले बताए।
'नक्कली मान्छे जागिरका लागि हाजिर हुन आएको भन्ने शंकापछि हामीले छानबिन गर्न माग गर्दै नगरपालिकालाई पाँच दिनको समय दियौं तर मेयरले बेवास्ता गर्नुभयो। पछि वार्ताका लागि पनि बसौं न भन्दा नमानेपछि हामीले तालाबन्दी गर्यौं,' अध्यक्ष राईले भने।
नगरपालिकाले रोजगार शाखाअन्तर्गत एक जना करार कर्मचारी माग गरेको थियो। जसमा ९ जनाले परीक्षा दिएका थिए।
तीमध्ये दिव्यराज अधिकारीको नाम सिफारिस भयो। उनी पुस ९ गते नगरपालिकामा हाजिर पनि भए। तर हाजिर भएको तेस्रो दिन कार्यसम्पादनमा शंका भएपछि उनी फरक व्यक्ति हो कि भन्ने भयो।
परीक्षा दिने व्यक्तिको नाम र हाजिर हुन आउने व्यक्तिको नाम र ठेगाना भने एउटै रहेको खुलेको छ। उनीहरू दुवै वडा नम्बर २ का बासिन्दा हुन्।
अध्यक्ष राईका अनुसार परीक्षा दिने व्यक्ति कन्ट्रक्सन कम्पनीमा कम्प्युटर अपरेटरको काम गर्छन् भनेर हाजिर हुन आउने व्यक्ति हालसालै वैदेशिक रोजगारबाट फर्किएका हुन्।
सोही विषयलाई लिएर आफूहरूले छानबिन गर्न र दोषीउपर कारवाही गर्न माग गर्दा नगरपालिकाले वेवास्ता गरेपछि तालाबन्दी गरेको राईको भनाइ छ।
'मेयरले बोलाउनुभएपछि हामी नगरपालिका गयौं तर प्रमुख प्रशासकीय अधिकृत नभएपछि हामीले वार्तामा बस्दैनौं भन्यौं,' उनी भन्छन्, 'हामीले प्रमुख प्रशासकीय अधिकृतसँग पनि छलफलका लागि बसौं भन्दा उहाँले यो कानुनी प्रकृयाको विषय हो भन्दै तर्किनुभयो।'
उनले नगरपालिकाले उक्त विषयबारे सत्यतथ्य छानबिन गरेर दोषीलाई कारवाही नगरुञ्जेल तालाबन्दी नहट्नेसमेत बताए।
प्रमुख प्रशासकीय अधिकृतको ताला नखुलेपछि शुक्रबार बिहान नगरपालिकाका मेयर अशोक कार्कीले उल्टै सबै शाखाहरूमा पनि ताला लगाउन निर्देशन दिएका थिए।
'मुख्य ताला नै नखुलेपछि बाँकी शाखाहरूमा पनि किन खोल्नुपर्यो?,' उनले भने, 'विना जानकारी कोही नभएको बेला ताला लगाउने काम भयो। पछि वार्तामा बोलाउँदा पनि एमालेका साथीहरूले उदण्ड देखाउनुभयो। प्रमुख प्रशासकीय अधिकृत बाहिर हुनुहन्थ्यो अनि नगरप्रमुख म हो, दोषीलाई कारवाही गर्छु भन्दा पनि ताला लगाएर बस्नु कसको गल्ती हो?'
उनले नियुक्ति प्रकृयामा मानवीय कमजोरी भएको हुनसक्ने उल्लेख गर्दै थप छलफल गरेर दोषीलाई कारबाही हुने जनाए। 'एउटै वडामा दिव्यराज अधिकारी नाम गरेको दुई जना रैछन् तर एकअर्कालाई नचिन्ने रैछन्,' मेयर कार्की भन्छन्, 'हाजिर प्रकृयामा अलिकति मानवीय कमजोरी भएको देखिन्छ। अहिले मेरो अध्यक्षतामा वार्ता समिति गठन गर्ने निर्णय गरेका छौं। छानबिन गरेर विवाद समाधान गर्छौं।'