पोखराको सूर्यदर्शन सहकारी ठगी अभियोग लागेका पूर्वडिआइजी छविलाल जोशी बन्जाडेका कानुन व्यवसायीले गोर्खा मिडिया नेटवर्क प्रालि र नेचर हर्ब्स इन्टरनेसनल प्रालिलाई किन विपक्षी बनाइएन भनेर प्रश्न गरेका छन् ।
सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा छविका तर्फबाट बहस गरेका अधिवक्ता अपूर्व खतिवडाले इजलासमा उक्त प्रश्न राखेको इजलासमा उपस्थित अधिवक्ता युवराज पराजुलीले जानकारी दिए।
‘सहकारीबाट गोर्खा मिडिया नेटवर्क प्रालि, नेचर हर्ब्स प्रालि लगायत कम्पनीमा पैसा गएको देखिन्छ, तर अभियोग पत्रमा यी कम्पनीहरूलाई विपक्षी बनाइएको छैन,’ उनले इजलासमा भने, ‘किन यी कम्पनीहरूलाई विपक्षी बनाइएन?’
उनले पूर्वडिआइजी छविलाल जोशीले सहकारीबाट पैसा नलिएको दाबी गरे।
उनका तर्फबाट वरिष्ठ अधिवक्ता जगन्नाथ ढकाल र अधिवक्ता खतिवडाले बहस गरेका थिए। छविकै तर्फबाट आइतबार वरिष्ठ अधिवक्ताद्वय शम्भु थापा र रमण श्रेष्ठले पनि बहस गर्ने जानकारी गराएका छन्।
संसदीय छानबिन विशेष समितिले पनि छविलाललाई सहकारी अपचलनमा दोषी नदेखाएको भन्दै उनीहरूले पैसा गएको कम्पनी वा संस्थालाई विपक्षी बनाउन माग गरे।
छविलालको सही छाप कीर्ते गरेर अपचलन गरेको देखिएको भन्दै उनीहरूले सहकारी ठगीमा आफ्नो पक्षको कुनै संलग्नता नभएको तर्क गरे।
उनीहरू दुई जनाले बहस गरेपछि लिला पछाईंका तर्फबाट गणेशबहादुर भट्टराईले बहस गरेका थिए।
उनले बहस थाल्दै गर्दा समय सकिएपछि न्यायाधीश नीतिज राईले बहस स्थगित गरेका थिए।
सहकारी ठगी, संगठित अपराध सम्पत्ति शुद्धीकरण मुद्दा लागेका प्रतिवादीहरूका कानुन व्यवसायीले आइतबार पनि बहसलाई निरन्तरता दिनेछन्।
थुनछेक बहसमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछाने, पूर्वडिआइजी जोशी, नेचर हर्ब्स इन्टरनेसनलका सञ्चालक रामप्रसाद खनाल, लिला पछाईं, मिना गुरूङ, कृष्णबहादुर गुरूङ र आरती गुरूङ प्रतिवादी छन्। उनीहरूविरूद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण निवारण ऐन विपरीत कसुर गरेको अभियोग छ।
जिल्ला सरकारी वकिलको कार्यालयले उक्त सहकारी ठगी आरोपमा २०८० असोज १८ गते १९ जनालाई प्रतिवादी बनाएर मुद्दा दायर गरेको थियो। उक्त मुद्दा अहिले पनि जिल्ला अदालतमा विचाराधीन छ। उनीहरूविरूद्ध पनि सम्पत्ति शुद्धीकरण र संगठित अपराधको थप अभियोग अदालतमा पेस गरिएको छ।
सहकारीका पूर्वअध्यक्ष गितेन्द्रबाबु (जिबी राई), उनका दाजु भूपेन्द्र राई, वर्तमान अध्यक्ष थानबहादुर बुढा, सञ्चालक समितिका उपाध्यक्ष कैलाशकुमार दर्लामी, सचिव धीरजकुमार दास, कोषाध्यक्ष कुमार रम्तेल, सदस्यहरू हेमन्त अधिकारी, कविता तामाङ र प्रमोद भट्टराईविरूद्ध मुद्दा दर्ता गरिएको छ।
पूर्वसचिव अनुज नकर्मी र सुरज श्रेष्ठ, सञ्चालक सदस्यहरू शिवबहादुर गुरूङ, भविश्वर अर्याल र आइस्मा गुरूङ, लेखा समितिका संयोजक सागर केसी, सदस्य दिनेश रोका र ललिता तामाङ, लेखा अधिकृत सृष्टि मानन्धर, कर्जा अधिकृत बुद्धि गुरूङविरूद्ध मुद्दा दर्ता भएको थियो।
सूर्यदर्शन सहकारी ठगीमा मुछिएका सहकारी संचालक लगायत व्यक्तिविरूद्ध सुरूमा दर्ता गरिएको मूल अभियोग, थप अभियोग र रवि लामिछानेसहित जोडिएको पूरक अभियोग गरी ८ वटा कम्पनीसहित ६३ जनालाई प्रतिवादी बनाइएको छ। उनीहरूसँग १ अर्ब ५१ करोड बढी रकम बिगो माग गरिएको छ।