जनमत पार्टीका अध्यक्ष सिके राउतले आफूलाई अहिले पनि सिंहदरबार र संसद भवनमा छिर्दा नागरिकता मागेको दाबी गरेका छन्।
बुधबार माइतीघर मण्डलामा जनमत पार्टीले आयोजना गरेको राष्ट्रिय धोती दिवसको कार्यक्रममा सांसद समेत रहेका राउतले संसद भवन छिर्न नागरिकता देखाउनुपर्ने अवस्था रहेको बताएका हुन्।
‘आजको दिनमा सिके राउतलाई पनि संसद भवन छिर्न नागरिकता देखाउनुपर्ने आवश्यकता हुन्छ। संसद मात्र होइन, सिंहदरबार छिर्न… मलाई पनि नागरिकता मागिदिन्छ,’ राउतले भने, ‘त्यो त भएन नि।’
उनले भुटान, बर्मा, भारत, अमेरिका वा युरोपबाट मान्छेलाई सिधै नेपाली भन्ने गरिएको तर रैथानेलाई नागरिकता मागिने गरेको बताए।
‘हामी यही देशमा हजारौँ वर्षदेखि बस्दै आएको रैथाने मान्छे हौँ,’ राउतले भने, ‘अनि हामीसँग सधैँ नागरिकता मागिदिने… यो विभेद स्वीकार्य हुँदैन।’
सांसद राउतले सिंहदरबार र संसद छिर्न नागरिकता मागिएको भन्ने आरोपको गृह मन्त्रालय र संसद सचिवालयले खण्डन गरेका छन्। सिंहदरबार छिर्न सांसदलाई तपाईंहरूले नागरिकता माग्नुहुन्छ भन्ने प्रश्नमा गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले ‘नमागिने’ जबाफ दिए।
‘सांसदज्यूहरूसँग लोगो हुन्छ,’ गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले भने, ‘नागरिकता मागिँदैन,लोगो लगाउनु भएको हुन्छ। त्यसैबाट भइहाल्छ।’
उनले सांसदहरूलाई सिंहदरबार प्रवेशका लागि नागरिकता माग्ने अवस्था नआएको बताए।
संसद सचिवालयले निर्वाचित भएर आएपछि सांसदहरूलाई संसद सुरू हुनुअघि शपथ ग्रहण समारोहका दिन संघीय संसदको लोगो वितरण गर्ने गरेको छ। जुन सांसदहरूले कार्यकाल समाप्त भएपछि फिर्ता गर्नुपर्ने व्यवस्था छ।
संघीय संसद सचिवालयका प्रवक्ता एकराम गिरीले पनि सांसदहरूलाई संसद भवनमा लोगो हेरेर प्रवेश दिने गरेको बताए।
‘सांसदहरूले लोगो लगाएपछि पुगिहाल्छ,’ गिरीले भने, ‘यदि केही गरी लोगो बिर्सनु भएको रहेछ भने संसद सचिवालयले परिचय पत्र दिइएको छ। त्यो भए पनि हुन्छ।’
उनले नयाँ बानेश्वरस्थित संसद भवनमा सांसदहरूलाई चिनेकै आधारमा समेत प्रवेश गराउने गरिएको बताए।
‘सामान्यतया लोगो लगाएर छिर्नुहुन्छ,’ गिरीले भने, ‘सांसदहरूलाई प्राय: प्रहरीले चिनेकै हुन्छन्। 'फेमस' नै हुनुहुन्छ। प्रहरीले पनि याद गरेकै हुन्छ। ३ सय ३० जना सांसदलाई प्रहरीले चिनेकै हुन्छन्। लोगो नलगाएको अवस्थामा प्रहरीले कहिलेकाहीँ परिचय पत्र माग्न सक्छ।’
उनले संसद भवन छिर्दा सांसदलाई नागरिकता नै माग्ने अवस्था नआएको बताए।
सिके राउतको पार्टीले बुधबार माइतीघर मण्डलामा ‘धोती हाम्रो पहिचान हो’ भन्ने नाराका साथ धोती दिवसको कार्यक्रम राखेको थियो।
कार्यक्रममा राउतले नेपालमा लामो समय एकल भाषा लाद्ने काम भएको बताए। त्यसैले आफ्नो पार्टीले मौलिक वेशभूषा लगाएर प्रदर्शन गर्नुपरेको बताए।
‘मधेस आन्दोलन मत्थर भयो, जनजाति आन्दोलन मत्थर भयो,’ राउतले भने, ‘एउटै वेशभूषा र भाषा लाद्न खोज्ने संसदमा एउटै भाषा बोल्न मात्र दिने हो कि भन्ने अवस्था भयो।’
उनले कीर्तिपुरमा नेपाल प्रिमियर लिगको फाइनलमा जनकपुर बोल्ट्सका समर्थकविरूद्ध नस्लीय नारा लागेको उल्लेख गरे।
‘स्टेडियममा फरक समुदायका विरूद्ध नारा लाग्यो। नेताबाट कर्मचारीबाट भएको होइन,’ राउतले भने, ‘नस्लीय नारा लगाउनु नस्लवाद हो भन्ने चेत जनतामा नभएकाले हो। जनतालाई रङ्गभेदको बोध छैन।’