नेपाली कांग्रेस संसदीय दलले संसदमा विचाराधीन विधेयकहरूलाई संसदको आउँदो अधिवेशनमा पारित गर्ने गरी काम गर्न पार्टीका सांसदहरूलाई आग्रह गरेको छ।
सिंहदरबारमा बुधबार बसेको संसदीय दलको बैठकले ६ वटा समितिमा रहेका सांसदहरूलाई राखेर समितिमा रहेका विधेयकको अवस्था र पारित हुन नसक्नुका कारणबारे सोधेको थियो।
‘संघीय संसदमा विचाराधीन विधेयकहरूको सन्दर्भमा के, कस्तो अवस्था छ र ति विधेयक समितिमा के कति कारणले पारित हुन सकेका छैनन् भनेर हामीले छलफल गरिएको हो,’ सहमहामन्त्रीसमेत रहेका सांसद जीवन परियारले भने, ‘आउँदो हिउँदे अधिवेशनमा समितिबाट समेत पारित गर्ने र हिउँदे अधिवेशनबाट विचाराधीन विधेयकहरूलाई अन्तिम टुंगोमा पुर्याउन कांग्रेसले पार्टीका सांसदहरूसँग छलफल गरेको हो।’
उनले बुधबार बिहान ११ बजे अर्थ समिति, शिक्षा समिति र कानून समितिका सदस्यहरूसँग छलफल भएको र दिउँसो २ बजे राज्य व्यवस्था समिति, उद्योग समिति र पूर्वाधार विकास समितिका सदस्यहरूसँग कुराकानी गरिएको बताए।
१५ वटा विधेयक यी समितिमा छलफलको क्रममा छन्। कतिपय विधेयक टुंगोमा लाग्न लागेको र कतिपय विधेयक छलफलकै क्रममा रहेको छ।
गत बिहीबार सत्तारुढ कांग्रेस र एमाले सम्मिलित कार्यदलले संघीय संसदमा विचाराधीन विधेयकलाई आगामी अधिवेशनमा पारित गराउने गरी काम गर्ने निर्णय गरेको थियो।
(न्युज एजेन्सी नेपाल)