नेपाली कांग्रेसका केन्द्रीय सदस्यसमेत रहेका क्रियाशील सदस्यता व्यवस्थापन समितिका सदस्य प्रकाश रसाइली 'स्नेही' ले दाङमा क्रियाशील सदस्यता नवीकरण ९५ प्रतिशत सकिएको बताएका छन्।
१०० दिने संगठन सुदृढीकरणकै अभियानका क्रममा क्रियाशील सदस्यता नवीकरण र वितरणका कामलाई समेत तीव्रता दिएको उनले जानकारी दिए।
‘दाङमा ९५ प्रतिशत क्रियाशील सदस्यता नवीकरण भयो। यो तथ्यांक मृत्यु भएका बाहेकको हो,’ उनले भने, ‘विदेश भएका सदस्यहरूको नवीकरण भएको छैन।’
केही सदस्यहरूले भने लेबी नबुझाएका कारण नवीकरण थाती रहेको उनको भनाइ छ।
उनकाअनुसार १०० दिने संगठन सुदृढीकरण अभियानका क्रममा दाङमा स्थानीय तहका विभिन्न निकायका समितिमा रहेका पदाधिकारीमध्ये मृत्यु वा विदेश गएर तीन वटा बैठकमा निस्क्रिय रहेका पदमा पदपूर्ति गर्ने निर्णय भएको छ।
स्थानीय जनप्रतिनिधि र पार्टीका सम्बन्धित समितिलाई राखेर बजेटदेखि योजना बनाउने काममा घोषणा पत्रअनुसार अघि बढ्न भनिएको पनि उनले जानकारी दिए।
‘तीन-तीन महिनामा पार्टीले स्थानीय तहका प्रमुखहरूलाई बोलाएर कामको विवरण लिनेछ,’ उनले भने।
नेविसंघ, तरूण दलजस्ता केन्द्रले निर्देशन समिति बनाएकाहरूका हकमा जिल्ला कार्यसमितिको रोहवरमा कार्यतालिका बनाएर फागुनभित्र जिल्ला अधिवेशन गर्न पनि भनिएको छ।
लेबी नबुझाउने जनप्रतिनिधिलाई ३५ दिनभित्र लेबी बुझाउनसमेत भनेको रसाइलीको भनाइ छ।