नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले राष्ट्रिय मेलमिलाप र सहमतिको आधारमा संविधान संशोधन अगाडि बढ्नुपर्ने बताएका छन्।
प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइराला आफूमाथि आठ वटा मृत्युदण्डका मुद्दा अदालतमा चलिरहेका बेला राष्ट्रियताका लागि जीवन अर्पण गर्न तयार भएर राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिँदै स्वदेश फर्किएको स्मरण गर्दै महरले भने, ‘त्यतिबेला राष्ट्रको स्वाधिनता र अस्तित्व रक्षाको समय थियो।’
अहिले संविधान संशोधनको बहस भएको बेला राष्ट्रिय एकता र मेलमिलापको नीति सान्दर्भिक रहने पनि उनले बताए।
कांग्रेस इलामले मंगलबार गरेको कार्यक्रममा बोल्दै महरले बिपी देशको स्भाविमान जोगाउन राष्ट्रिय एकतासहित स्वदेश फर्किएको बताए।
बिपीको नेतृत्वमा सर्वोच्च नेता गणेशमान सिंह, नेत्री शैलजा आचार्य, खुमबहादुर खड्का, रामबाबु प्रसाईं, नीलाम्बर पन्थीलगायत नेता कार्यकर्ता राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिएर करिब आठ वर्ष लामो निर्वासित जीवन त्याग गरी स्वदेश फर्किएको उनको भनाइ थियो।
उनले राष्ट्रिय एकता र मेलमिलाप अहिले पनि आवश्यक रहेको बताए।
'बिपीले परिकल्पना गरेको लोकतान्त्रिक प्रणालीका माध्यमले विकसित नेपालको चाहना आजसम्म पनि पूरा हुन सकेको छैन। यसको पहिलो खुड्किला भनेको कांग्रेसलगायत दलभित्र मेलमिलाप र एकताको आधार खडा हुन आवश्यक छ। त्यसपछि राष्ट्र निर्माणको मुद्दा र जनताको मुद्दामा एक हुनुपर्छ,' महरले भने।