उपप्रधानमन्त्रीसमेत रहेका सहरी विकास मन्त्री प्रकाशमान सिंहले संघर्ष गरेर ल्याएको लोकतान्त्रिक व्यवस्थालाई संरक्षण गर्नुपर्ने बताएका छन्।
मंगलबार पाल्पाको रामपुरमा गणेशमान सिंह स्मृति प्रतिष्ठान भवन उद्घाटन गर्दै सिंहले भने, ‘जनताले संघर्ष गरेर ल्याएको लोकतान्त्रिक व्यवस्थालाई संरक्षण र सम्बर्द्धन गर्नुपर्छ।’
उनले कांग्रेसलाई विभिन्न चुनौतीका सामना गर्न सक्ने सक्षम पार्टी बनाउनुपर्ने पनि बताए।
साथै उपप्रधानमन्त्री सिंहले राष्ट्रिय मेलमिलाप दिवसको सन्दर्भको चर्चा गर्दै काँधमा आएको जिम्मेवारी पूरा गर्न सबैलाई आग्रह गरेका छन्।
उनले २०३३ पुस १६ गते मेलमिलापको नीति लिएर स्वदेश फर्केका बिपी कोइराला, गणेशमान सिंहलगायतका नेताहरूको स्वागतमा विमानस्थल पुगेको कुरा पनि स्मरण गरेका थिए।
तर बिपी र गणेशमानलाई प्रहरीले सिधै गिरफ्तार गरेको उनले बताए।
‘प्रजातन्त्र, प्रजातान्त्रिक मूल्य मान्यता हामीलाई चाहिन्छ। त्यतिले मात्र पुग्दैन, राष्ट्रियता पनि बलियो हुनुपर्छ भन्नेमा उहाँहरूले जोड दिनुभएको थियो,’ उनले भने।