नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव) ले पार्टी एकतालाई गम्भीरताका साथ नलिएसम्म नेकपा (माओवादी केन्द्र) सँग एकता नहुने बताएका छन्।
काठमाडौंमा मंगलबार पत्रकार सम्मेलन गर्दै उनले माओवादीसँगको पार्टी एकता सकियो भन्ने भ्रम फैल्याइएको पनि बताए।
‘एकताको कुरा छ, बाहिरबाट हल्ला के भएको छ भने माओवादीसँगको एकता लर्बरियो रे, बन्द भयो रे, सिधियो रे भन्ने छ,’ उनले भने, ‘त्यो कुरा होइन, हामीले भनेको कुरा के हो भने जुन गम्भीरतामा नेकपाले एकतालाई हेरेको छ र एकताको पहलकदमीको आवश्यकता ठानेको थियो, त्यो उचाइमा माओवादी केन्द्र वा अरू क्रान्तिकारी पार्टीको बीचमा गम्भीर नहुँदासम्म हामीले सहकार्यलाई मोर्चामार्फत् कायम राख्दै एउटा ध्रुवीकरणतर्फ लैजाने भनेका हौं।’
उनले क्रान्तिकारीहरूको सही विचार र संगठनको ध्रुवीकरण बनाउनुपर्छ भनेर लागेकव पनि बताए।
साथै उनले बदलिएको सन्दर्भ, जनताको चाहना, जनताको सुझाव, पार्टीले गरिरहेको राजनीतिक अभ्यासको निस्कर्षबाट निर्वाचनमा भाग लिने निर्णय गरेको पनि बताए।
(न्युज एजेन्सी नेपाल)