नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले देशैभर राष्ट्रिय मेलमिलाप आवश्यक रहेको र कांग्रेसले नै त्यसको अग्रसरता लिनुपर्ने बताएका छन्।
राष्ट्रिय मेलमिलाप दिवस तथा कांग्रेसले चलाएको १०० दिने विशेष अभियान कार्यक्रमअन्तर्गत मंगलबार काठमाडौंको क्षेत्रपाटीमा भएको कार्यक्रममा बोल्दै सभापति देउवाले भने, ‘कांग्रेसका लागि मात्र होइन, देशभरका लागि राष्ट्रिय मेलमिलाप आवश्यक छ, कांग्रेसले अग्रसरता लिनुपर्छ।’
सभापति देउवाले गणतन्त्रलाई सुदृढ बनाउँदै गएमा स्थायी हुने पनि बताएका छन्। ‘गणतन्त्रलाई सफल बनाउन र विश्वसनीय बनाउनु सबैको कर्तव्य हो,’ सभापति देउवाले भने, ‘यो व्यवस्था नै स्थायी हुन्छ तर सुदृढ गर्दै जानुपर्छ।’
उनले बिपी कोइराला र गणेशमान सिंह राष्ट्रिय मेलमिलापको नीति लिएर २०३३ सालमा नेपाल फर्किएको पनि बताए। सोही दिनलाई कांग्रेसले राष्ट्रिय मेलमिलाप दिवसका रूपमा बनाउँदै आएको छ।
त्यसबेला खतरा र चुनौतीसहित बिपी र गणेशमान स्वदेश फर्किएको सभापति देउवाको भनाइ छ।
‘२०३३ सालमा बिपी कोइराला र गणेशमान सिंह राष्ट्रिय मेलमिलापको नीति लिएर फर्कनुभएको थियो। यद्यपि नेपालमा राजाले मारिदिन्छन् कि के हुन्छ, हत्या हुन्छ कि भन्ने अवस्थामा पनि उहाँहरू आउनुभएको थियो,’ सभापति देउवाले भने, ‘भारतमा रहेका उहाँहरूलाई नेपालको सीमा क्षेत्रमा पनि आउन दिएका थिएनन्। त्यसकारण नेपालमै फर्किन उहाँहरूले जोड गर्नुभएको थियो। ठूलो खतरा र चुनौती राखेर उहाँहरू नेपाल फर्किएको हो।’
सभापति देउवाका अनुसार बिपी र गणेशमान नेपाल फर्किएपछि उनीहरूकै वरपरि राजनीति केन्द्रित हुँदै गएको पनि बताए। केही वर्षपछि बिपी कोइरालाको निधन भएको र सर्वोच्च नेता गणेशमान सिंहको नेतृत्वमा काठमाडौंमा भएको आन्दोलनले प्रजातन्त्र पुनर्स्थापना गरेको सभापति देउवाले बताए।
‘गणेशमान सिंहको नेतृत्वमा काठमाडौंमा भएको आन्दोलनले राजाले घुँडा नै टेके,’ देउवाले भने।
त्यसको केही वर्षमा तत्कालीन राजा वीरेन्द्र शाह र उनका परिवारका सदस्यहरूको हत्या भएको थियो। त्यसपछि ज्ञानेन्द्र शाहले सत्ता हातमा लिएका थिए। २०६२/०६३ को जनआन्दोलनकै बलमा देशमा गणतन्त्र आएको थियो। सभापति देउवाले गणतन्त्रलाई सुदृढ गर्दै यही व्यवस्थालाई स्थायी बनाउनुपर्नेमा जोड दिएका छन्।