नेकपा (एमाले) को पुस १० को सचिवालय बैठकले संगठित सदस्यता खोसेका भीम रावल नयाँ पार्टी खोल्ने तयारी गर्दैछन्।
उनले पार्टी खोल्नुअघि सुदूरपश्चिमका विभिन्न दलमा रहेका नेताहरूसँग संवादलाई अघि बढाएका छन्। एमाले पूर्वउपाध्यक्ष रावल अछामका हुन्।
रावलले सोमबार काठमाडौंस्थित निवासमा नेपाली कांग्रेस डडेल्धुराका पूर्वसभापति कर्ण मल्ल र सुदूरपश्चिम प्रदेशका स्वतन्त्र सांसद तारा जोशीसँग कुराकानी गरे।
मल्ललाई कांग्रेसले २०७९ वैशाख १३ गते पार्टीबाट साधारण सदस्यसमेत नरहने गरी निकालेको थियो।
स्थानीय तह निर्वाचन २०७९ मा डडेल्धुराका स्थानीय तहमा कांग्रेसका उम्मेदवारविरूद्ध स्वतन्त्र ढंगले उम्मेदवारी दर्ता गराउन लगाएको आरोपमा मल्ललाई कांग्रेसले पार्टीबाटै निकालेको थियो।
त्यसअघि २०७८ मा भएको १४ औं महाधिवेशनका बेला क्रियाशील सदस्यता वितरणदेखि नै सभापति शेरबहादुर देउवा पक्ष र मल्ल पक्षबीच मतभेद थियो। त्यो मतभेद बढ्दै जाँदा मल्ल कांग्रेसबाटै निकालिएका थिए।
कांग्रेसले निकालेको केही समयपछि मल्ल कांग्रेस (बिपी) का उपसभापति भए। उनी अहिले पनि कांग्रेस (बिपी) मै सक्रिय छन्।
भीम रावलसँग आफूले पनि कुराकानी गरेको र नयाँ ढंगले अघि बढ्नेबारे प्रारम्भिक छलफल भएको मल्लले सेतोपाटीलाई बताए।
पार्टी नेतृत्वबाट कारबाहीमा परेकाहरूबीच कुराकानी भएको मल्लको भनाइ छ।
‘मलाई शेरबहादुर देउवाले पार्टीबाट निकाल्नुभयो, केपी ओलीले भीम रावललाई। पार्टीबाट निकालिएकाहरूले कुराकानी गरेका हौं, कसरी अघि बढ्ने भन्नेबारे प्रारम्भिक छलफल भएको हो,’ मल्लले सेतोपाटीसँग भने।
रावलले पुस १७ गते पत्रकार सम्मेलन गरी केही कुरा राख्ने र त्यसपछि नयाँ ढंगले अघि बढ्न सकिने मल्लको भनाइ छ।
रावलसँग भेटेका सुदूरपश्चिमका स्वतन्त्र सांसद तारा जोशीले पनि रावलसँग प्रारम्भिक कुराकानीमात्रै भएको बताए। ‘उहाँ पार्टी खोल्दै हुनु हुँदो रहेछ, म त्यो पार्टीमा जाने वा नजानेबारे अहिले नै केही कुरा नै भएको छैन,’ जोशीले भने।
जोशी माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय सदस्य थिए। डडेल्धुराका उनी त्यसअघि नेकपा (एमाले) मा थिए।
एकीकृत समाजवादीले प्रदेश सभा सदस्यको टिकट नदिएपछि उनले स्वतन्त्र उम्मेदवारी दिएर जितेका हुन्। जोशीलाई उम्मेदवारी निस्क्रिय गर्न पार्टीले निर्देशन दिए पनि उनले मानेका थिएनन्। त्यसपछि उनी एकीकृत समाजवादीमा निस्क्रिय जस्तै छन्।
भीम रावलले नयाँ पार्टी खोल्नेबारे एमालेका केही नेताहरूसँग पनि छलफल गरिरहेका छन्। रावलले पार्टी खोलेका खण्डमा एमाले छाडेर क-कसले साथ दिन्छन् अहिले नै प्रष्ट भइसकेको छैन।
रावलले आफूमाथि कारबाही गर्ने एमाले अध्यक्ष केपी शर्मा ओलीविरूद्ध देश दौडाह गरेर भण्डाफोर गर्ने र त्यसैको जगमा पार्टी खोल्ने तयारी गरेका छन्। त्यसैले पुस १७ मै उनले पार्टी खोलेको घोषणा गर्ने सम्भावना कम रहेको उनीनिकट नेताहरू बताउँछन्.
वलले पार्टीको चरित्र कस्तो रहने भन्नेबारे केही खाका भने कोरिसकेका छन्।
वाम-प्रजातान्त्रिक समेटेर गैरकम्युनिस्ट पार्टी बनाउने रावलको योजना छ। रावलले देश दौडाहामा निस्कने र आफ्ना विचारसँग सहमत राख्ने देभभरिका नेता–कार्यकर्तासँग अन्तरक्रिया गर्ने तयारी गरेका हुन्।
भीम रावलनिकट एकिन्द्र कुँवरले पनि रावलकै नेतृत्वमा वाम, प्रजातान्त्रिक, प्रगतिशील र देशभक्तहरूको नयाँ पार्टी बन्ने बताए।
विभिन्न पार्टीमा कारबाहीमा परेका, उपेक्षामा परेकाहरूलाई समेटेर रावलले कस्तो पार्टी बनाउनेछन् त्यसको छनक उनले आउँदो बुधबारको पत्रकार सम्मेलनमा दिनेछन्।