डडेल्धुराको परशुराम नगरपालिकाले आयोजना गरेको`पहिलो सुदूरपश्चिम मेयर फोरम २०८१’ सुरू भएको छ।
सोमबारदेखी परशुराम धाममा सञ्चालनमा आएको मेयर सम्मेलनमा सुदूरपश्चिम प्रदेशका उपमहानगरपालिका, नगरपालिका, र गाउँपालिकाका प्रमुख तथा अध्यक्षहरूसंगै सुदूरपश्चिम सरकारका मन्त्री, पुर्व मन्त्री, विभिन्न विज्ञहरूको सहभागीता छ।
‘सुदूरपश्चिम प्रदेशमा अवसर र चुनौती’ भन्ने मुख्य विषयमा केन्द्रित यो सम्मेलनले स्थानीय तहका नेताहरूलाई विकासका अवसर र चुनौतिहरूबारे छलफल गर्न, विचार आदानप्रदान गर्न, र सहकार्यका रणनीति तय गर्न मञ्च प्रदान गर्ने लक्ष्य राखेको छ।
परशुराम नगरपालिकाका प्रमुख भरत बडायर जोशीका अनुसार यस सम्मेलनले प्रदेशका स्थानीय तहहरूबीच आपसी सहयोग र समन्वयलाई सुदृढ गर्दै स्थानीय सरकारहरूको आवाजलाई राष्ट्रिय तथा प्रादेशिक तहसम्म पुर्याउन मद्दत गर्नेछ।
सम्मेलनमा विभिन्न विषयमा बहस र छलफल गरी सुदूरपश्चिम प्रदेशको दीगो विकासका लागि सहमति र रणनीति निर्माण गर्ने उद्देश्य राखिएको छ।
यो सम्मेलनले सुदूरपश्चिम प्रदेशका स्थानीय तहहरूलाई एकताबद्ध गर्न, सहकार्यका अवसरहरू सिर्जना गर्न, र भविष्यका लागि दीगो योजना बनाउने महत्वपूर्ण आधार तयार गर्ने विश्वास गरिएको छ।
सम्मेलन मंगलबारसम्म सञ्चालन हुनेछ।