गैरकानुनी उत्खनन् रोक्न सहयोग माग्दै प्रहरीलाई पत्र लेखेका मोरङ ग्रामथान गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतलाई पालिका अध्यक्षले उल्टै स्पष्टीकरण सोधेका छन्।
उपनिर्वाचनबाट गाउँपालिका अध्यक्षमा निर्वाचित नमोनारायण माझीले प्रहरीलाई किन पत्र लेखेको भन्दै प्रमुख प्रशासकीय अधिकृत रामराज पौडेलसँग स्पष्टीकरण सोधेका हुन्। माओवादीबाट उपनिर्वाचन जितेका अध्यक्ष माझीले प्रहरीलाई पत्र लेख्नुपर्ने कारणबारे स्पष्टीकरण मागेका हुन्।
प्रमुख प्रशासकीय अधिकृत पौडेलले पुस ८ मा ग्रामथानकै झोराहाटमा रहेको प्रहरी कार्यालयलाई पत्र लेखेका थिए।
उनले प्रहरीलाई लेखेको पत्रमा भनिएको छ, ‘ग्रामथान गाउँपालिका वडा नं. २ अन्तर्गतका विभिन्न नहर, सडक लगायतका सार्वजनिक स्थलबाट गैरकानूनी रूपले माटो उत्खनन् भइरहेको भन्ने जनगुनासो आएको तथा गाउँपालिकाबाट अनुगमन गर्दा समेत उत्खनन् भएको पाइएकोले त्यस प्रकारको गैरकानूनी उत्खनन् कार्य रोकी उत्खनन् कार्यमा संलग्न सवारीसाधनहरू नियन्त्रणमा लिई दिनुहुन अनुरोध छ।’
गाउँपालिका कार्यालय स्रोतका अनुसार पालिका उपाध्यक्ष, वडाध्यक्ष र अरू जनप्रतिनिधिहरूसमेत सहभागी टोलीले अनुगमन गरेको थियो। त्यसक्रममा नहरको छेउमा रहेको शाखा पैनी प्रभावित हुने गरी जथाभावी उत्खनन् गरिएको भेटिएको एक जनप्रतिनिधिले बताए। अनुगमन टोलीले तत्कालै प्रहरीलाई पत्र लेख्न भनेपछि अधिकृतले प्रहरीलाई पत्राचार गरेका थिए।
तर, पुस ११ मा अध्यक्ष माझीले प्रहरीलाई पत्र किन लेखेको कारण पेश गर्न भन्दै प्रशासकीय अधिकृतलाई पत्र लेखेका हुन्।
अध्यक्षले मागेको स्पष्टीकरण पत्रमा भनिएको छ, ‘यस ग्रामथान गाउँपालिकाबाट मिति २०८१/०९/०८ गतेको दिन चं. नं. १०१५, मिति २०८१/०९/०८ को गैरकानूनी उत्खनन् कार्य रोक्का गर्ने सम्बन्धमा प्रहरी चौकी, झोराहाटलाई काटिएको पत्र के–कति कारणले काटिएको हो? स्पष्ट खुलाई दिन हुन जानकारीको लागि अनुरोध छ।’
यही विषयमा चर्किएको पत्राचार श्रृंखलाले गाउँपालिकामा असामान्य अवस्था सिर्जना भएको कर्मचारीहरू बताउँछन्। प्रमुख प्रशासकीय अधिकृत पौडेलले यसबारे कुरा गर्न अस्वीकार गरेका छन्।
गाउँपालिका अध्यक्ष माझीले नहर र पैनी छेउमा अवैध उत्खनन् भएको विषयमा आफ्नो विमति नभए पनि आफू काठमाडौं भएका बेला प्रहरीलाई पत्र काटिएको र त्यसबारे जानकारी नदिएकाले स्पष्टीकरण मागेको बताएका छन्।
‘म ग्रामथानको अभिभावक हो, यहाँ हुने सबै गतिविधिको दायित्व मेरो हो,’ अध्यक्ष माझीले भने, ‘मलाई जानकारी किन दिएन त? जनताले यसबारे सोध्यो भने मलाई थाहा छैन भन्नुपर्दा लाज हुँदैन? यो ठूलो कुरा हो। यस्तै काम विदेशतिर भएको भए ठूलो कारबाही हुन्थ्यो।’
अध्यक्ष माझीले नहरमा अवैध उत्खनन् भएको चाहीँ स्वीकारे। अवैध उत्खनन् रोक्न अधिकृतले प्रहरीलाई पत्र लेख्दा के बिग्रियो ? भन्ने प्रश्नमा माझीले थपे, ‘यसमा धेरै सुनियोजित कुरा छ। म काठमाडौं भएका बेला नै किन पत्र लेखियो? मलाई फोनबाट जानकारी गराउँदा के हुन्थ्यो?’