नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले युवाबिना कुनै पनि राजनीतिक पार्टी अघि बढ्न नसक्ने बताएका छन्।
काठमाडौंमा आइतबार नेपाल लोकतान्त्रिक खेलकुद संघको महाधिवेशन केन्द्रीय निर्देशन समितिले गरेको कार्यक्रममा बोल्दै सभापति देउवाले पार्टीमा युवा आवश्यक पर्ने बताए।
‘खेलकुद जगतमा बढी लागेका साथीहरूले पनि नेपाली कांग्रेसलाई बलियो बनाउन सक्नुहुन्छ, कुनै पनि पार्टीमा युवा पुस्ता जबसम्म हुँदैन तबसम्म त्यो पार्टी अघि बढ्न सक्दैन,’ सभापति देउवाले भने, ‘खेलकुदमा युवाहरू बढी हुने भएकोले हामीले जोड दिनुपर्छ। खेलकुद क्षेत्रलाई अघि बढाउनुपर्छ, हाम्रो पार्टीबाट पूरा सहयोग छ।’
उनले खेलकुद जगत अत्यन्तै महत्वपूर्ण भएको बताए।
‘एउटा भनाइ छ, स्वस्थ शरीरमा स्वस्थ दिमाग रहन्छ। खेलकुद स्वयं स्वस्थ शरीरका लागि अत्यन्त आवश्यक छ। यो कहावत मात्रै होइन, वास्तविकता पनि हो,’ उनले भने, ‘खेलकुदका समस्या छन्, समाधान गर्नुपर्छ।’
उनले ओलम्पिकको सन्दर्भमा रुक्मसमशेर राणाहरूको कमिटीलाई सर्वोच्च अदालतले मान्यता दिएको पनि बताएका थिए। ‘सर्वोच्च अदालतबाट तोकेपछि, सर्वोच्च अदालतले मानिसकेपछि त्यसलाई हामी लागु गर्नुपर्दछ। कसले मान्छ, मान्दैन भन्ने कुरा होइन, सर्वोच्च अदालतको आदेश मान्नुपर्छ, लागु पनि गर्नुपर्छ,’ उनले भने।
(न्युज एजेन्सी नेपाल)