नेपाली कांग्रेसका नेता शेखर कोइरालाले यो सातादेखि नेपाली कांग्रेस र नेकपा (एमाले) केही चलायमान भएको देखिएको बताएका छन्।
उनले आइतबार जनकपुरधाममा पत्रकारहरूसँगको कुराकानीका क्रममा राजनीतिक स्थायित्वका निम्ति कांग्रेस र एमालेको गठबन्धन सरकार बनेकोले यसले काम गर्नुपर्नेमा जोड दिए।
‘यो सातादेखि कांग्रेस र एमाले अलिअलि चलायमान भएको मैले पाएँ, त्यो राम्रो कुरा हो,’ कोइरालाले भने, ‘अब संविधान जस्तो कुरामा अन्य दलहरूसँग पनि मिलेर हामीले केही सुधार गर्नुपर्ने हुन्छ।’
सत्तारूढ कांग्रेस र एमालेले कार्यदल बनाएर संविधान संशोधनका विषयमा अघि बढ्ने तयारी गरेका थिए। त्यसतर्फ लक्ष्य गर्दै कोइरालाले सत्तारूढ दुई पार्टी केही चलायमान भएको उल्लेख गरेका हुन्।
‘कांग्रेस र एमालेसँगै माओवादी, रास्वपा र मधेसका दलहरू मिलेर संविधान सुधारका कुरा गर्नुपर्छ,’ उनले भने, ‘सबै दलहरूसँग छलफल गरी संविधान सुधारका लागि कुरा गर्नुपर्छ। कांग्रेस र एमालेमात्रै भएर सोच्यौं भने त फेरि गलत बाटोतिर जान थाल्छौं।’
उनले दुई ठूला दल एक ठाउँमा उभिएर निर्वाचनमुखी भएर अघि बढिरहेको पनि बताए। २०८४ को निर्वाचनका लागि अघि बढेको उनको भनाइ छ।
२०४६ र २०५६ सालमा पनि कांग्रेस र एमाले मिलेर सरकार बनाएर चुनाव गराएको उनको भनाइ थियो।
‘राजनीतिक स्थायित्वका निम्ति कांग्रेस र एमाले गठबन्धन गरेर सरकार बनाउँदै चुनावमा जाने भन्ने हो। केका लागि राजनीतिक स्थायित्व भन्दा पटक-पटक सरकार बदलिने र यसले विकासका काम भइरहेको छैन। सुशासनका कुरा पनि भइरहेका छैनन्। भ्रष्टाचार पनि हामीले नियन्त्रण गर्न सकिरहेका छैन। सँगसँगै संविधानमा केही सुधार ल्याउनुपर्छ भन्ने कुराले कांग्रेस र एमालेले सरकार बनाएको हो,’ उनले भने।
उनले अहिले एमालेको नेतृत्वमा सरकार रहेको र डेढ वर्षपछि कांग्रेस नेतृत्वमा सरकार आउने बताए।