३२ वर्षे उमेरहद लगाउने कि खुल्ला उम्मेदवारी दिन सक्ने भन्ने बारेमा नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) मा भएको मतदान पनि विवादित भएको छ।
उमेर हदको पक्ष र विपक्षमा रहेका विद्यार्थीहरूले जिल्लाबाट आएको निर्वाचन परिणामलाई अस्वीकार गर्दै उजुरी दिएपछि मतपरिणाम सार्वजनिक हुन सकेको छैन।
अखिल (क्रान्तिकारी) का निवर्तमान उपाध्यक्ष मदन भुलले विवादित जिल्लाहरूमा फेरि मतगणना भएपछि परिणाम सार्वजनिक गरिने बताए।
‘उजुरी परेकाले परिणाम सार्वजनिक हुन रोकिएको हो,’ उनले भने, ‘अहिले निर्वाचन आयोगका पदाधिकारी पार्टी अध्यक्षसँग छलफलमा हुनुहुन्छ, उहाँहरूले केही निकास निकाल्नुहोला।’
भुल विद्यार्थीको निर्वाचनमा उमेरहद लगाउन नहुने पक्षका हुन्।
शनिबार ७७ भौगोलिक र अरू गैरभौगोलिक गरी ८६ जिल्लामा निर्वाचन भएको थियो। साँझ ७ बजेसम्म सबै जिल्लाबाट परिणाम आएको थियो। परिणामअनुसार ३२ वर्षे उमेर हद लगाउनुपर्ने पक्षमा ९१७ र विपक्षमा ८८४ मत आएको थियो।
अर्का उपाध्यक्ष मदन भट्टराईले उमेर हदको पक्षमा परिणाम आएलगत्तै खुल्लाको पक्षमा रहेकाहरू मत परिणाम सार्वजनिक गर्न असहमत भएको बताए।
‘दिउँसोसम्म उहाँहरू उत्साहित हुनुहुन्थ्यो, परिणाम उल्टो आउनेबित्तिकै धाँधली भएको आरोप लगाउनुभयो,’ उनले भने। भट्टराई अनेरास्ववियु (क्रान्तिकारी) मा ३२ वर्षे उमेर हद कायम गर्नुपर्छ भन्ने पक्षका हुन्।
उमेर हद खुल्ला गर्नुपर्ने पक्षमा परिणाम नआएपछि खुल्ला निर्वाचन गर्नुपर्ने पक्षका विद्यार्थीहरूले बैतडी, बाजुरा, गुल्मी, मोरङलगायत जिल्लामा उजुरी दिएका थिए।
खुल्ला हुनुपर्ने पक्षकाहरूले उजुरी दिएपछि उमेर हद लगाउने पक्षका विद्यार्थीहरूले पनि अछाम, दाङलगायत जिल्लामा फेरि मतदान गर्नुपर्ने माग गर्दै उजुरी दिए।
विद्यार्थीहरूको उजुरी परेपछि निर्वाचन आयोगले मत परिणामा सार्वजनिक गर्न स्थगित गरेको सूचना सार्वजनिक गरेको थियो।
‘जिल्लाहरूको मतदान केन्द्रबाट निर्वाचनसम्बन्धी कागजपत्र प्राप्त हुन बाँकी भएकाले उक्त कागजपत्रहरू प्राप्त भएपछि मात्रै मत गणनाले पूर्णता पाउने हुँदा तत्पश्चात मतगणनाको परिणाम सार्वजनिक गरिने व्यहोरा सबैलाई जानकारी गराउन चाहन्छौं,’ शनिबार साँझ निर्वाचन आयोगले जारी गरेको सूचनामा उल्लेख छ।
अखिल (क्रान्तिकारी) का २ हजार ४ सय ५ जना प्रतिनिधि रहेकोमा १ हजार ८ सय १ जनाले मतदान गरेका थिए।
मत परिणाम सार्वजनिक हुनै लाग्दा विद्यार्थीहरूले बखेडा निकालेपछि निर्वाचन समितिका पदाधिकारी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'सँग छलफलमा जुटेका छन्।
मुक्तिनारायण प्रधानको नेतृत्वमा निर्वाचन समिति बनेको छ।