परराष्ट्रमन्त्री आरजु राणा देउवाले देशमा समृद्धि ल्याउनका लागि दुई ठूला राजनीतिक दलहरुको सरकार बनेको बताएका छन्।
कैलाली जिल्लाको कर्णाली चिसापानीमा निर्माण हुने जालपादेवी केबलकारको शनिबार शिलान्यास गर्दै मन्त्री राणाले देशमा दुई ठूला पार्टीका अध्यक्षहरू देशमा समद्धि ल्याउनका लागि एक ठाउँमा उभिएको बताएकी हुन्।
मन्त्री राणाले राजनीतिले मात्रै मान्छेको पेट भर्दैन भन्नेबारे नेताहरू सचेत रहेको बताइन्।
'रोजगारी चाहिन्छ, एउटा आय आर्जन गर्ने वातावरण बन्नुपर्छ अनिमात्रै देशको समृद्धि हुन्छ । मान्छेहरुको सपना पूरा हुनसक्छ । जुन हाम्रो एउटा परिकल्पना छ, हाम्रो यस्तो किसिमको देश बनोस्, यस्तो किसिमको जीविका होस् भन्ने कुरा गरेर नै अहिले दुई वटा पार्टीले सरकार बनाएका छन्,' उनले भनिन्।
मन्त्री राणाले विकासको बाधक बनेका क्षेत्रहरुको नियम कानुन फेरबदलमा पनि सरकारले लागेको बताइन्।
'एउटा टिम गठन गरेर यो निजी क्षत्रेमा हुनुपर्ने केके हो, बिजनेस र लगानीको सम्भावना बढाउन कुनकुन नियम परिवर्तन गर्नुपर्छ भनेर एउटा टास्कफोर्स बनेको छ,’ उनले भनिन्।
परराष्ट्रमन्त्री राणाले प्रचुर सम्भावना हुँदाहुँदै पनि कानून बाधक बन्दा आवश्यकताअनुसार विकास हुन नसकेको बताइन्। (न्युज एजेन्सी नेपाल)