नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भूसालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेकपा (एमाले)को अध्यक्षबाट हटिदिन सुझाव दिएका छन्।
ओलीले नेतृत्वमा रहेर गरेका प्रयोगहरू असफल भइसकेको बताउँदै महासचिव भूसालले ओलीले नेतृत्व छाड्दा एमाले र लोकतन्त्रका लागि पनि राम्रो हुने बताएका हुन्।
'कमरेड ओलीको यो प्रयोग असफल भइसकेको छ । निर्वाचनमा, पार्टी सञ्चालनमा, अन्तर्राष्ट्रिय सम्बन्धमा उहाँको प्रयोग असफल भयो । उहाँले त्यहाँ छोड्नु उहाँका लागि र हाम्रो लोकतन्त्रका लागि सबैभन्दा राम्रो कुरा हुन्थ्यो,' महासचिव भूसालले भने।
उनले ओलीले चाकरी नगर्नेलाई शत्रुवत् व्यवहार गर्ने पनि बताए। त्यसको शिकार पूर्वउपाध्यक्ष भीम रावल पनि भएको बताए।
त्यहाँ बसेका सबैले चाकरी गर्छन् भन्ने होइन नेकपा (एमाले) हामीले लडेर आफैँ बनाएको पार्टी हो । त्यहाँ तमाम साथीहरु छन् । अहिले उकुसमुकुसमा छन् । भनेका छैनन् । यो घटना जसरी घट्दैछ । यसले नेकपा एमालेभित्र यो समस्या अझै बढ्नेछ,' उनले भने।
एमालेभित्र रहँदा नेतृत्वलाई लिएर प्रश्न उठाउँदा आफूमाथि प्रतिशोध साधिएको भूसालले बताए।