नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले काठमाडौंका महानगरपालिकाका पूर्वमेयर पिएल सिंहको निधनले देशलाई ठूलो क्षति पुगेको बताएका छन्।
शनिबार पिएल सिंहको १३ औं दिनको पुण्य तिथिमा आयोजित श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै उनले पिएल सिंह कहिल्यै नथाक्ने र सधैँ सक्रिय हुने व्यक्ति रहेको पनि बताए। सिंहले काठमाडौंवासीको सेवा महत्वका साथ समर्पित भएर गरेको सभापति देउवाले बताए।
'उहाँको जति बखान गरेपनि कम हुन्छ। उहाँ आँखामा नबिझाउने व्यक्ति हुनुहुन्थ्यो।पार्टीका लागि अपूरणीय क्षति भएको छ।राष्ट्रका लागि नै अपूरणीय क्षति भएको छ,' उनले भने।
सभापति देउवाले स्व. सिंहले देखाएको बाटोमा हिँड्नसके उनीप्रति सच्चा श्रद्धाञ्जली हुने र पार्टीलाई अझ लोकप्रिय बनाउन मद्दत पुग्ने बताए।
नेपाली काँग्रेसका नेता एवं उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले काठमाडौं महानगरलाई यत्तिको बनाउन स्व. सिंहले खेल्नुभएको भुमिका अविष्मरणीय रहेको बताए।
उनले स्व. सिंह नेपाल–भारत सम्बन्धलाई थप मजबुत बनाउने व्यक्ति रहेको पनि बताउनु भयो।कन्भिन्सिङ पावर मोडलको रुपमा स्व.सिंहलाई लिन सकिने बताए।
'काठमाडौं महानगरलाई प्रोग्राम ल्याउन, फाइनान्सिलय सपोर्ट गर्न धेरै काम गरे। उहाँको कन्भिन्सिङ पावर मोडलको रुपमा हामी सबैले सिक्नुपर्छ।उहाँ नेताहरुको धेरै लोकप्रिय हुनुहुन्थ्यो।उहाँले पाएको अवसरलाई पूर्ण रुपमा सफल गर्नुभयो,' उनले भने।
कार्यक्रममा बोल्दै काँग्रेस सांसद एवं स्वास्थ्य तथा जनासंख्यामन्त्री प्रदीप पौडेलले राजनीतिमा प्राप्त उपलब्धिलाई स्व. सिंहले राम्रोसँग नेतृत्व गरेको भन्दै उनको स्मरण गरे।
उनले प्राप्त अवसरलाई कसरी सदुपयोग गर्ने र सफलतापूर्वक निर्वाह गर्ने भन्नेकुरा स्व. सिंहको जीवनीबाट सिक्न सकिने बताए।
‘अब राजनीतिमा कति प्राप्त हुन्छ त्यो एउटा विषय हो।प्राप्त भएको अवसरलाई कति सफलतापूर्वक निर्वाह गरिन्छ, त्यो सफलता हो भन्ने लाग्छ।त्यसबाट हेर्दा वेदाग पिएल दाईले प्राप्त अवसरलाई राम्रोसँग नेतृत्व गरेर जानुभयो।त्यसअर्थमा पिएल दाई आफैँमा एउटा स्वच्छ छवि भएको इमान्दार र निष्ठावान हुनुहुन्थ्यो,' उनले भने।
मन्त्री पौडेलले पिएल सिंहले नेपाली काँग्रेसको सिद्धान्त, विचारलाई अनुशासित रुपमा ग्रहण गरेको व्यक्तिका रुपमा चिनेको बताए। (न्युज एजेन्सी नेपाल)