कानून, न्याय तथा संसदीय मामिला मन्त्री अजयकुमार चौरसियाले भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माण प्रक्रिया अघि बढाउन स्वास्थ्य मन्त्रालयका ध्यानाकर्षण गराएका छन्।
मंगलबार कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै मन्त्री चौरसियाले स्वास्थ्यमन्त्री पौडेलको ध्यानाकर्षण गराएका हुन्।
उनले दुवाकोटमा रहेको वीर अस्पताल निर्माणको विषयमा स्वास्थ्य मन्त्रीले प्रष्ट पार्नुपर्ने बताए।
उनले अहिले पनि दुवाकोटमा न्याम्सका १२ सय भन्दा बढी विद्यार्थी अध्ययनरत रहेको र ६३ वटा शैक्षिक कार्यक्रमहरू सञ्चालनमा रहेको उल्लेख गरे।
उक्त अस्पताल नेपालको एउटा महत्वपूर्ण प्रतिष्ठान भएको बताउँदै मन्त्री चौरसियाले यसको निर्माण प्रक्रिया अघि नबढ्दा अन्य ठाउँहरूमा समस्या उत्पन्न गर्छ कि गर्दैन? भनेर प्रश्न समेत गरे।
उनले भने, ‘स्वास्थ्य मन्त्रीज्यूले आज एउटा कुरा स्पष्ट पार्नुपर्थ्यो, दुवाकोटमा रहेको वीर अस्पताल निर्माणको कुरा पूरा भइसक्यो कि भएन? अहिलेसम्म त्यहाँ जग्गा मात्रै छ। अहिले पनि त्यहाँ न्याम्सको १२०० भन्दा बढी विद्यार्थी पढिरहनुभएको छ। ६३ वटा शैक्षिक कार्यक्रमहरू त्यहाँ सञ्चालन भइरहेका छन् र अन्तर्राष्ट्रिय विश्व विद्यालयहरूसँग त्यहाँ कार्यक्रमहरू एक्सचेन्ज पनि हुन्छ। यहाँका एमडी गर्ने डाक्टरहरू अन्य देशमा समेत गएर पाँच/छ महिना जति तालिम गरेर आउँछन्। त्यो यो देशको एउटा महत्वपूर्ण प्रतिष्ठान हो। यो चिकिसा विज्ञान प्रतिष्ठान सामान्य कुरा होइन। भोलिको दिनमा यसले अन्य ठाउँमा पनि समस्याहरू उत्पन्न गर्छ कि गर्दैन? पछिल्लो एउटा घटनाको कारणले गर्दाखेरि यसलाई अलग्गै गर्नुपर्छ भन्ने कुराहरू आएको हो। तर निर्माण कार्य सुरू नै भएको छैन। बजेट एलोकेट छैन। टेण्डरको आह्वान नै गरेको छैन। सरकारले पहिले निर्माण कार्य सुरू गर्नुपर्यो। त्यसपछि समय तोक्दा त राम्रै हुन्छ।’
उनले नेपालीले विदेशमा उपचार गर्न जानु नपर्ने गरी सबै प्रकारको सुविधा उपलब्ध भएको अन्तर्राष्ट्रिय स्तरको अस्पताल निर्माण गर्न आवश्यक भएको बताए।— न्यूज एजेन्सी नेपाल