नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले संयुक्त सरकारभित्र कांग्रेस र एमालेबीचको शक्ति सन्तुलन हुनु आवश्यक भएको र सन्तुलनको जिम्मेवारी प्रधानमन्त्री केपी शर्मा ओलीको भएको बताएका छन्।
कांग्रेसको १०० दिने विशेष अभियानअन्तर्गत इलाममा मंगलबार भएको कार्यक्रममा बोल्दै उनले भने, ‘एमालेको नेतृत्वमा कांग्रेस सहितको संयुक्त सरकार गठन भएको पाँच महिना बित्दा पनि गठबन्धनको स्पिड अनुसार चल्नसकेको छैन। यसले कांग्रेसको घोषणा पत्रलाई पनि धेरै ध्यान दिएको देखिँदैन। जनतामाझ व्याप्त निराशालाई आशामा परिणत गर्ने प्रतिबद्धता प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्मा व्यक्त गर्नु भएको थियो, त्यस अनुरूप काम देखिएन।’
वर्तमान सरकारलाई असार १७ मा भएको सात बुँदे सहमति कार्यान्वयनबाट पछि हट्ने छुट नभएको पनि उनले बताए।
'कांग्रेस संसद्को ठूलो दलको हो, ओज र स्थितिलाई ध्यान नदिएर सरकार कांग्रेसको तेजोवध हुने गरी अगाडि बढिरहेको आभाससमेत हुन थालेको छ। सरकार कांग्रेसको गरिमा घटाउने गरी अगाडि बढिरहेमा समीक्षा हुनसक्छ,' उनले भने।
पुस १६ गते कांग्रेसको १०० दिने अभियान सकिएपछि सरकारको बारेमा जनताले कांग्रेसलाई दिएको सुझावअनुसार सत्ता सहयात्राबारे केन्द्रीय समितिमा समीक्षा हुने उनले बताए।
‘यो सरकारको प्रभावकारिता बढोस् भन्ने चाहान्छौं। सरकारको प्रभावकारिता बढ्न सकेन भने कांग्रेसले निर्देशन दिनु पर्ने अवस्था आउन सक्छ,’ उनले भने।