सहकारी ठगी प्रकरणमा अदालतले पक्राउ पुर्जी जारी गरेपछि फरार रहेकी अन्जला कोइराला पेशाले शिक्षक हुन्। प्रतिनिधि सभा सार्वजनिक लेखा समिति सभापति पत्नी अन्जला विराटनगरस्थित महेन्द्र रात्री माध्यमिक विद्यालयमा पढाउँछिन्।
अदालतले पक्राउ पुर्जी जारी गरेपछि विद्यालयमा पत्र लेखेर अनुपस्थित रहेकी उनले थप बिदा मागेकी छन्। तर, उनले बिदा मागेको पत्र भने ‘भर्चुअल’ माध्यमबाट उनका सांसद पति पोखरेलले विद्यालयमा प्रेषित गरेका छन्।
विद्यालयका प्रधानाध्यापक झंकनाथ पराजुलीले अन्जलाको थप बिदाका लागि लिखित निवेदन आएको र त्यो निवेदन उनका पति पोखरेलमार्फत आएको बताए।
‘अन्जला म्यामकै नाममा निवेदन आएको छ पठाउन चाहिँ ऋषिसरले पठाउनुभएको हो,’ उनले भने। पत्र भर्चुअल माध्यमबाट प्राप्त भएको उनको भनाइ छ।
मोरङको धनपालथान गाउँपालिका-४ स्थित उमागौरी कृषि सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा अन्जलाको नाम जोडिएको थियो। प्रहरीले अनुसन्धान प्रतिवेदन बुझाएपछि उनीसहित २६ जनाविरूद्ध अदालतले पक्राउ पुर्जी जारी गरेको थियो।
अदालतको पुर्जीपछि फरार अन्जलाले ५ दिनको बिदा माग्दै विद्यालयमा निवेदन पठाएकी थिइन्। शुक्रबार बिदा सकिएपछि नयाँ पत्र पति ऋषिकेशले पठाइदिएका हुन्। दिन नभनी मागिएको बिदामा विरामी बिदा पाउँ भन्ने उल्लेख छ।
सहकारी ठगी प्रकरणमा कोइरालासहित, रंगेली –२ का वडाध्यक्ष सन्तलाल खवास, अध्यक्ष शम्भुप्रसाद रौनियारलगायत विरूद्ध मंसिर २७ मा मुद्दा दायर भएको थियो।
सरकारी वकिलको कार्यालय मोरङले सहकारी ठगी मुद्दामा प्रतिवादी बनाइएका २६ जनाबाट २२ करोड ४८ लाख २७ हजार ७ सय रुपैयाँ बिगो असुल गर्न माग गरेको छ।