नेकपा (माओवादी केन्द्र) का सांसद जनार्दन शर्माले विद्युत अनुमति पत्र होल्ड गर्ने, लाइसेन्स लिने र बिक्री वितरण गर्ने कार्य कानूनी रुपमा अन्त्य गर्न आवश्यक रहेको बताएका छन्।
प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समितिमा विद्युत विधेयक, २०८० माथि संशोधनकर्ताको तर्फबाट संशोधन प्रस्ताव पेस गर्दै शर्माले जलविद्युत क्षेत्रमा विद्युत अनुमतिपत्र होल्ड गर्ने, लाइसेन्स लिने र विक्री वितरण गर्ने कार्य एउटा विकृतिको रूपमा रहेको बताए।
‘जलविद्युतमा एउटा विकृति छ, विद्युत अनुमतिपत्र होल्ड गर्ने, लाइसेन्स लिने र बिक्री वितरण गर्ने कार्य चलिरहेको छ। यसलाई रोक्ने गरी कानूनमा व्यवस्था गर्नुपर्छ,’ उनले भने, ‘एक जना व्यक्तिको आर्थिक क्षमताअनुसार कति काम गर्न सक्छ, त्योअनुसार लाइसेन्स दिने व्यवस्था हुनुपर्छ।’
त्यस्तो भएमा एक व्यक्तिले लाइसेन्स बिक्री गर्ने कार्यको अन्त्य हुन सक्ने उनले बताए।
‘अहिले २० वटा परियोजना दर्ता गरिएका छन्। जलविदयुतसम्बन्धी केही संशोधन अनुमति उत्पादन यो व्यवस्थालाई रोक्ने कुरा हामीले सैद्धान्तिक रूपमा व्यवस्था गर्नुपर्छ,’ उनले भने।
(न्युज एजेन्सी नेपाल)