नेपाली कांग्रेसका महामन्त्री गगन थापाले निजी क्षेत्रलाई थप संकुचित बनाउने गरी विद्युत विधेयक बनाए विद्युत क्षेत्रको विकास हुन नसक्ने बताएका छन्।
प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समिति मंगलबार विद्युत विधेयक, २०८० माथि संशोधनकर्ताको तर्फबाट संशोधन प्रस्ताव राख्दै उनले जलविद्युत क्षेत्रको विकासमा निजी क्षेत्रको ठूलो योगदान रहेको बताए।
निजी क्षेत्रको लगानी संकुचित बनाउने दृष्टिकोणले विद्युत विधेयक ल्याउन नहुने उनको भनाइ छ।
‘सरकारले बनाउने विद्युतसम्बन्धी कानूनका दफाहरूबाट निजी क्षेत्रलाई झन संकुचित बनाउने सोच दृष्टिकोण राख्यौं भने हाम्रो विद्युत क्षेत्रको विकास हुन सक्दैन,’ थापाले भने, ‘जलविद्युत क्षेत्रमा भएका विकृतिहरूप्रति कठोर हुनुपर्छ।’
नेपालको जलविद्युत क्षेत्रमा निजी क्षेत्रको ठूलो संग्लनता आवश्यक रहेको पनि उनले बताए।
‘हाम्रा कानूनको दफाहरूबाट निजी क्षेत्रलाई विकास हुन सक्दैन, निजी क्षेत्रलाई अझै थप फराकिलो बनाउनुपर्छ। थप ठाउँ दिनुपर्छ भन्ने मेरो प्रस्ताव बताउन चाहन्छु,’ उनले भने।
(न्युज एजेन्सी नेपाल)