राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पार्टीलाई अहित हुने सामग्री फेसबुकलगायत सामाजिक सञ्जालमा सेयर, लाइक र रिट्वीट गर्न रोक लगाएको छ।
केन्द्रीय प्रचार विभागले बनाएको 'सामाजिक सञ्जाल सञ्चालन तथा व्यवस्थापन कार्यविधि २०८१' मा पार्टीलाई हित नगर्ने सामग्री सेयर, लाइक र रिट्वीट गर्न नपाउने उल्लेख छ।
यो कार्यविधि पुस ६ गते बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले अनुमोदन गरेकोले कार्यान्वयनमा आइसकेको छ।
अब साधारण सदस्यदेखि केन्द्रीय पदाधिकारीसम्मले यो कार्यविधिअनुसार सामाजिक सञ्जाल सञ्चालन गर्नुपर्ने भएको छ।
प्रवक्ता मोहन श्रेष्ठका अनुसार व्यवस्थित र मर्यादित रूपमा सामाजिक सञ्जाल सञ्चालन गर्न र प्रसारित सामग्रीमा एकरूपता कायम गर्न पार्टीले कार्यविधि बनाएर लागु गरेको हो।
कार्यविधिमा कुनै सदस्यले अर्को कुनै सदस्य वा व्यक्तिलाई होच्याउने, बदनाम गर्ने, चरित्रमा आँच पुर्याउने वा व्यक्तिगत प्रतिष्ठामा हानि हुने गरी सार्वजनिक रूपमा आलोचना गर्न वा फोटो, भिडिओ सेयर गर्न नपाउने उल्लेख छ।
‘पार्टी सदस्यले प्रतिस्पर्धी पार्टी, व्यक्ति वा समूहले पार्टीलाई हित नहुने विषयको सामग्री सेयर गर्ने, लाइक गर्ने र रिट्वीट गर्न हुँदैन,’ कार्यविधिले भनेको छ।
सदस्यहरूले पार्टी निर्णय, विचार, मूल्य, मान्यता र आदर्शलाई सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्ने, गराउने वा पार्टी सदस्यबाट सार्वजनिक हुने विचार, बहसलाई व्यवस्थित गर्न कार्यविधि बनाउनुपरेको राप्रपाको भनाइ छ।
कार्यविधिमा सामाजिक सञ्जाल भन्नाले अनलाइन प्लेटफर्ममा एक अर्काबीच व्यक्तिगत वा संस्थागत रूपमा अन्तर्क्रिया गरिने फेसबुक, ह्वाट्सएप, एक्स, इन्स्टाग्राम, थ्रेड, भाइबर, युट्युव, टिकटक, गुगलप्लस, क्लब हाउस, इमो, विच्याट, स्न्यापच्याट जस्ता र सोही प्रकृतिका अन्य प्लेटफर्म भन्ने बुझ्नुपर्ने भनिएको छ।
राप्रपाले पार्टीको सामाजिक सञ्जाल रणनीतिको माध्यमबाट पार्टीलाई नै संगठित र व्यवस्थित गर्ने उद्देश्य पनि राखेको छ। सामाजिक सञ्जालको प्रयोगबाट पार्टी र जनताबीच सन्तुलित, स्वस्थ र बलियो सम्बन्ध स्थापित गर्दै पार्टीलाई बलियो र विश्वनीय बनाउने राप्रपाको लक्ष्य छ।
सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थापन गर्न प्रचार विभागको मातहतमा सामाजिक सञ्जाल इकाइ गठन गर्ने र उक्त इकाइमा संयोजक र बढीमा चार सदस्य राख्ने राप्रपाको तयारी छ।
यो इकाइले केन्द्रिय अध्यक्षको निर्देशन र प्रचार विभागको समन्वयमा सामाजिक सञ्जाल रणनीति तर्जुमा, कार्यान्वयन गर्ने, सामाजिक सञ्जालबाट प्रसार हुने विषयवस्तुको सामग्री तयार गर्ने, सम्प्रेषण गर्ने, गराउनेलगायत काम तोकिएका छन्।
साथै पार्टी र सदस्यलाई अन्य पक्षबाट भएको प्रतिक्रियात्मक कार्यको प्रतिरक्षा गर्ने र पार्टी हितविपरीत गरेका सामग्रीको स्क्रिन सट वा कपी राख्ने जिम्मेवारी पनि तोकिएको छ।
सामाजिक सञ्जाल कार्यविधि भ्रातृ तथा पेसागत संगठन सदस्यले पनि पालना गर्नुपर्ने भनिएको छ।
पार्टी सदस्यहरूले पार्टीको संवेदनशील सूचना, निर्णय वा सामग्री अध्यक्षको अनुमतिमा मात्र प्रसारण, प्रेषण वा सार्वजनिक गर्न सक्ने भनिएको छ।
साथै सामाजिक सञ्जालबाट विचार राख्दा पार्टीमा रहेको पद उल्लेख गर्दा अनिवार्य रूपमा नाम भन्नुपर्ने व्यवस्था पनि गरेको छ। छद्म नाम प्रयोग गर्न राप्रपाले निरूत्साहित गरेको छ।
पार्टीका सदस्यहरूले सामाजिक सञ्जालमा पोस्ट गरेका सामग्रीले पार्टीको हितलाई असर पुग्ने देखिएमा तत्काल हटाउनुपर्ने पनि कार्यविधिमा उल्लेख छ।
कार्यविधि विपरीत कार्य गर्नेलाई पार्टीले अभिलेख राखेर विश्लेषणसहित प्रतिवेदन बनाउनेछ। सोही आधारमा अनुशासन कारबाही गर्न परे केन्द्रीय अनुशासन समितिमा सिफारिस गर्न सकिने व्यवस्था पनि कार्यविधिमा उल्लेख छ।