सिके राउत नेतृत्वको जनमत पार्टीले सप्तरीमा टायर बालेर प्रदर्शन गर्दै सडक बन्द गरेको छ।
जनमत कन्चनरूप सप्तरीका कार्यकर्ताहरूले सोमबार एक घन्टा सडक बन्द गरेर लाठीसहित प्रदर्शन गरेका हुन्।
टायर बालेर सडकमा प्रदर्शन गरेको भिडिओ सिके राउतले सामाजिक सञ्जाल फेसबुक लगायतमा सार्वजनिक पनि गरेका छन्।
जनकपुर बोल्टसका समर्थकहरूमाथि केही अराजक व्यक्ति र समूहले अपमानजनक तथा विभेदकारी व्यवहार गरेको भन्दै जनमत पार्टीले सडक बन्द गरेर प्रदर्शन गरेको हो।
मधेस सरकार जनमत पार्टीको नेतृत्वमा छ।
शनिबार भएको एनपिएलको फाइनलपछि केही व्यक्तिहरूले जनकपुर बोल्टसलाई लक्ष्य गर्दै आक्रमण र अपमानजनक शब्द प्रयोग भएको भन्दै जनमतका प्रवक्ता शरदसिंह यादवले आइतबार विज्ञप्ति निकालेर उक्त घटनामा संलग्नहरूमाथि कारबाहीको माग गरेका थिए।
जनमत पार्टीले रंगभेदी क्रियाकलाप गर्नेहरूलाई पहिचान गरी कानुनी दायरामा ल्याउन गृह प्रशासनलाई आग्रह पनि गरेको थियो।
यो पनि:
एनपिएलको फाइनल खेलमा दुर्व्यवहार गरेको आरोपमा दुई जना पक्राउ
जनकपुर बोल्टस् समर्थकमाथि दुर्व्यवहार गरेकोमा सर्वत्र विरोध, कारबाही माग