नेकपा (एमाले) का सांसद योगेश भट्टराईले प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलकी श्रीमती अन्जला कोइराला अदालतमा उपस्थित हुनुपर्ने बताएका छन्।
मोरङ धनपालथानस्थित उमागौरी कृषि सहकारी ठगी प्रकरणमा जोडिएकी उनीविरूद्ध पक्राउ पुर्जी जारी भए पनि फरार छिन्। कोइरालासहित २५ जनाविरूद्ध गत पुस २ गते जिल्ला अदालत मोरङबाट पक्राउ पुर्जी जारी भएको थियो।
सोमबारको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै एमाले सांसद भट्टराईले कोइराला अदालतमा उपस्थित हुनुपर्ने बताएका हुन्।
‘समितिका सभापतिको श्रीमती फरार रहेको कुरा आइरहेका छन्। अदालतमा उपस्थित हुन राम्रो हुन्छ,’ भट्टराईले समिति सभापति पोखरेललाई लक्ष्य गर्दै भने, ‘यो समिति सुशासन र चेक एण्ड ब्यालेन्सका लागि पनि बनेकोले आर्थिक रूपमा प्रष्ट हुनुपर्छ। यो स्पष्टीकरण दिने फोरम त होइन तर यसबारे प्रष्ट बनाइदिनुस्।’
उनले सहकारीमा जोडिएकी पोखरेल अदालत उपस्थित हुनुपर्नेमा पनि जोड दिए।
‘अरू चिच्याउँदै हिँडे भनेर हामीले त्यसो गर्ने होइन, न्यायिक निरूपण हुने निकायमा जानुपर्छ, उहाँ पक्कै अदालतमा उपस्थित हुनुहुन्छ,’ उनले भने।
लेखा समिति सभापति पोखरेल नेकपा (एमाले) का सांसद हुन्।