नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले युवाहरूको भावनालाई सधैं सम्मान गर्ने बताएका छन्।
नेपाल जेसीजले इटहरीमा आयोजना गरेको ५१ औं महाधिवेशन उद्घाटन समारोहमा मानार्थ सदस्यता प्राप्त गरेपछि बोल्दै उनले युवाहरूको भावनालाई सम्मान गरिने बताएका हुन्।
राजनीतिलगायत विभिन्न माध्यमबाट राष्ट्रको उन्नयनमा योगदान पुर्याउने १० जनालाई जेसीजले अहिलेसम्म मानार्थ सदस्यता प्रदान गरेको छ।
जेसीज गैरनाफामुखी र गैर सरकारी अन्तर्राष्ट्रिय संस्था हो। विश्वका १२२ देशमा सदस्य रहेको जेसीजले युवालाई सक्रिय नागरिक बन्न, सामाजिक, आर्थिक, अन्तर्राष्ट्रिय सहयोग, सद्भावना र समझदारीको दिशामा प्रोत्साहित गर्दछ।
नेपालमा पनि युवा नेतृत्व, व्यक्तित्व एवं उद्यमशीलता विकासमा केन्द्रित भई १७८ शाखामार्फत जेसीजले काम गर्दै आएको छ।
महरले यही उद्देश्य अनुरूप काम गरेकाले जेसीजले मानार्थ सदस्यता प्रदान गरेको जनाएको छ। महरले लामा समयदेखि निःशुल्क र गुणस्तरीय शिक्षा–स्वास्थ्यका लागि आवाज उठाउँदै आएका छन्।