नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघमा विवाद देखा परेको छ।
केन्द्रीय प्रतिनिधिहरू तोक्ने विषयमा कुरा नमिल्दा संस्थापन र संस्थापनइतर समूहले छुट्टाछुट्टै विज्ञप्ति निकालेर १२ औं महाधिवेशन गर्न सदस्यता वितरण सहजीकरण गर्न भन्दै केन्द्रीय प्रतिनिधिहरू तोकेका हुन्।
नेविसंघमा नियमित महाधिवेशन हुन सकेको छैन। पार्टीले महाधिवेशनको जिम्मेवारीसहित तदर्थ समिति बनाउँदै आएको छ। दुजाङ शेर्पा अध्यक्ष रहेको नेविसंघ तदर्थ समितिमा ७१० जना केन्द्रीय सदस्य छन्।
अध्यक्ष शेर्पाले गत पुस २ गते सदस्यता वितरणका लागि भन्दै एक सय १३ क्याम्पसमा केन्द्रीय प्रतिनिधि तोकेका थिए। केन्द्रीय प्रतिनिधि तोक्दा आफूहरूसँग कुराकानी नगरिएको र एकलौटी गरेको आरोपसहित शेखर कोइरालानिकट नेविसंघले छुट्टै केन्द्रीय प्रतिनिधि तोकेको हो।
कोइरालानिकट नेविसंघ केन्द्रीय सदस्य प्रमिका राना मगरले पुस ५ गते विज्ञप्ति निकालेर ७७ वटा क्याम्पसमा केन्द्रीय प्रतिनिधि तोकेकी हुन्।
कांग्रेसले चैतभित्रै नेविसंघको १२ औं महाधिवेशन गर्न निर्देशन समिति पनि बनाएको छ तर उक्त समितिले पनि नेविसंघमा देखा परेका विवाद हल गर्न सकेको छैन।
नेविसंघ संस्थापन पक्षले सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापानिकट नेविसंघ केन्द्रीय सदस्यहरूलाई केन्द्रीय प्रतिनिधिका रूपमा खटाएको थियो। सोविरूद्ध कोइरालानिकट नेविसंघले विरोध गर्दै बेग्लै प्रतिनिधि खटाएका हुन्।
पुस ७ गतेदेखि केन्द्रीय प्रतिनिधिहरू क्याम्पस पुगेर सदस्यता वितरण र इकाइ अधिवेशन गर्नेछन्। तर एकै क्याम्पसमा दुई केन्द्रीय प्रतिनिधि तोकिएकोले कुन आधिकारिक हुने भन्नेमा विवाद देखा परेको छ।
गैरसांगठनिक क्रियाकलापमा अध्यक्ष शेर्पाले अग्रसरता देखाएको भन्दै केन्द्रीय सदस्य राना मगरले पार्टी निर्देशक समिति र केन्द्रीय समितिबाट छानबिनको माग गर्दै पुस ४ गते विज्ञप्ति निकालेकी थिइन्।
नेविसंघ संस्थापन पक्षले भने आइतबारदेखि सदस्यता वितरण अभियान सुरू हुने भन्दै शनिबार साँझ आफूले तोकेका केन्द्रीय प्रतिनिधिहरूसँग छलफलसमेत गरेको थियो।