राष्ट्रिय प्रजातन्त्र पार्टीले स्थानीय तह उपनिर्वाचनमा मत बढेको निष्कर्ष निकालेको छ।
शुक्रबार र शनिबार दुई दिन बसेको राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा मंसिरमा सम्पन्न स्थानीय तह उपनिर्वाचनको समीक्षा गर्दै पार्टीको पक्षमा मत बढेको निष्कर्ष निकालेको हो।
'निर्वाचनको परिणाम राप्रपाको पक्षमा हुन नसकेपनि अधिकांश स्थानमा मतमा सुधार भएको छ, यद्यपि परिणाम बिजयका लागि पर्याप्त हुन सकेन,' राप्रपा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले सार्वजनिक गरेको बैठकका निर्णयमा भनिएको छ।
बैठकले प्राप्त परिणामबाट कमीकमजोरीमा सुधार गर्ने, पार्टी निर्माणको अवसरको रुपमा सदुपयोग गर्ने र सबै तहका पार्टी संगठनलाई चुस्त दुरुस्त र चलायमान बनाउने निर्णय गरिएको पनि श्रेष्ठले जानकारी दिएका छन्।
उपनिर्वाचनमा भएको तहगत कमजोरी र त्यसले परिणाममा पारेको प्रभावबारे अध्ययन गर्न राप्रपाले समिति पनि गठन गरेको छ।
पार्टीका संगठन विभाग प्रमुख वरिष्ठ नेता बुद्धिमान तामाङ्गको संयोजकत्वमा बागमती प्रदेश कार्यसमितिका अध्यक्ष विक्रम बहादुर थापा र लुम्बिनी प्रदेश कार्यसमितिका अध्यक्ष प्रदीपकुमार उदय सदस्य छन्।
समितिलाई उपनिर्वाचनमा भएको कमजोरी अध्ययन गरी प्रतिवेदन पेश गर्न भनिएको छ।
४१ ठाउँमा उपनिर्वाचन भएकोमा राप्रपाले ३२ ठाउँमा उम्मेदवारी दिएको थियो। सुदूरपश्चिमका धेरै स्थानीय तहमा उसले उम्मेदवारी दिएको थिएन।उम्मेदवारी दिएका अधिकांश ठाउँमा राप्रपाले दोहोरो अंकमा पनि मत पाएन।
पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनको गृह जिल्लामै राप्रपाले झिनो मत पाएको थियो।
कन्काई नगरपालिका–६ को उपनिर्वाचनमा स्वतन्त्र उम्मेदवार लक्ष्मीप्रसाद ओलीले ४९३ मत ल्याएर निर्वाचित हुँदा राप्रपाका नारायणप्रसाद निरौलाले जम्मा २६ मत प्राप्त गरेका थिए।
महोत्तरीको रामगोपालपुर नगरपालिका वडा नम्बर २ को निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार मोहम्मद मनान खाँले जम्मा दुई मत ल्याएका थिए।
राप्रपाले उपचुनावमा कुल ३ हजार ९३३ मत पाएको थियो भने अधिकांश ठाउँमा १० प्रतिशत मत कटाउन नसक्दा राप्रपा उम्मेदवारको जमानत जफत भएको थियो।