उपप्रधान मन्त्रीसमेत रहेका सहरी विकास मन्त्री प्रकाशमान सिंहले घरजग्गा कारोबारमा देखिएको शिथिलतालाई हटाउन सरकार प्रतिबद्ध रहेको बताएका छन्।
जग्गा आवास विकासमा देखिएका समस्या समाधानका लागि सुझाव दिन गठित कार्यदलको प्रतिवेदन शुक्रबार बुझ्दै उनले घरजग्गा कारोबारलाई थप व्यवस्थित बनाउने बताए।
प्रतिवेदनमा उठेका विषयलाई क्रमिक रूपमा कार्यान्वयन गर्दै लैजाने पनि उनको भनाइ छ।
‘जग्गा तथा आवास विकाससँग सम्बन्धित ऐतिहासिक दस्तावेजका रूपमा यो प्रतिवेदन पछिसम्म रहनेछ। जग्गा र आवाससम्बन्धी अनुसन्धान गर्नेहरूले पनि यो प्रतिवेदनलाई आधार बनाउनेछन् भन्ने विश्वास छ,’ उनले भने, ‘तपाईंहरूले दिनुभएको प्रतिवेदनलाई केलाएर मन्त्रालयले ऐननियम बनाउने क्रममा पनि यसले आधार दिनेछ। प्रतिवेदनमा भएका सुझाव कार्यान्वयनका लागि मन्त्रालयले काम गर्नेछ।’
घर जग्गा तथा आवास क्षेत्रले नेपालको अर्थतन्त्रमा योगदान पुर्याएको भन्दै मन्त्री सिंहले मन्त्रालयको तर्फबाट यसमा नीति बनाउँदा थप ध्यान दिने पनि बताए।
सरकार, निजी क्षेत्रको अन्तरक्रिया तथा व्यक्तिगत रूपमा कार्यदलले बुझाएको प्रतिवेदनले नेपालको घर जग्गा र आवासको कारोबारलाई उकास्न मद्दत पुग्ने उनको भनाइ छ।
उनले मध्यम र निम्न वर्गका परिवारलाई पनि ‘हाउजिङ’ आवासमा समेट्न मन्त्रालयले आवश्यक पहल गर्ने बताए।
सहरी विकास मन्त्रालयका भवन,आवास तथा योजना महाशाखाका प्रमुख दिलीप भण्डारीको संयोजकत्वमा गठन भएको कार्यदलले जग्गा,आवास विकाससँग सम्बन्धित व्यवस्था अध्ययन गरी पुनरावलोकन गर्नुपर्ने विषय पहिल्याएर सुधार सहितको प्रतिवेदन बुझाएका हुन्।