डा. निकोलस भुसालले तीन दिनअघि फेसबुकमा एउटा पोस्ट गरे- रवि लामिछाने, दुर्गा प्रसाईं लगायतको मानव अधिकार रक्षा गर्न पुस ६ गते चितवनमा जुटौं।
गत सोमबार उनले फेसबुकमा यस्तो लेखेर सुतिरहेको व्यक्तिको तस्बिर राखेका थिए। तर यो पोस्टमाथि खासै चर्चा भएको थिएन।
सोही तस्बिर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता दीपक बोहराले बुधबार बेलुकी फेसबुकमा राखे। त्यसपछि यो फोटोको चर्चा मात्रै बढेन, गृहमन्त्रीदेखि प्रहरीसम्मको टाउको दुखाइको विषय बन्यो।
‘अन्याय गर्नुको पनि हद हुन्छ, रवि दाइ हिरासत कक्षमा सुतेको सिसिटिभीकाे यो फोटो कास्की प्रहरीले कसलाई पठाउन स्क्रिनसट गरेकाे हाेला? अनि के उद्देश्यका लागि सार्वजनिक गरियाे? कति हो यो फोटोको मूल्य? न्याय मरेको छैन भने कसैले न कसैले त यसकाे मूल्य चुकाउनु पर्ला,’ रविनिकट बोहराले यस्तो लेखेर फेसबुकमा पोस्ट गरेपछि यसले थप चर्चाको रूप लियो।
सामाजिक सञ्जालमा आइरहेका तस्बिर सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरमा पक्राउ परी जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका रास्वपा सभापति रवि लामिछानेको भएको भन्ने बोहराको स्टाटस र प्रहरीले नै कसैलाई उक्त तस्बिर पठाएको आरोपले झन् फोटोले चर्चा पायो।
कास्की प्रहरीले पनि उक्त तस्बिरको वास्तविकता खोजी गर्न थाल्यो। कास्की प्रहरीका अनुसार तस्बिर पहिलो पटक सामाजिक सञ्जालमा पोस्ट गर्ने व्यक्तिको पहिचानमा प्रहरी जुटेको थियो।
बिहीबार बिहान, निकोलस भुसालले उक्त तस्बिर आफूले खिचेको र फेसबुकमा राखेको स्वीकार गरे।
फेसबुक लाइभमा आएका उनले उक्त तस्बिरबारे नकारात्मक रूपमा नबुझ्न रास्वपा नेता, कार्यकर्ताहरूलाई आग्रह गरे।
‘हिरासतमा जाँदा खासमा मोबाइल छाडेर जानुपर्ने हो, मैले रवि लामिछानेको फोटो हिरासतभित्र खिचेको पनि होइन, सिसिटिभी फुटेजमा फोटो खिचेको हो,’ उनले भने, ‘तर सिसिटिभी फुटेजमा पनि मैले फोटो खिच्न नहुने हो, फोटो खिच्दै गर्दा पनि मलाई फिल त भएको थियो। तर गृहमन्त्री भइसकेको मानिसको यस्तो अवस्था जस्तो लागेर फोटो खिचेँ र पुस ६ गते चितवनमा आन्दोलनमा आउनू भनेर फेसबुकमा राखेको थिएँ।’
शनिबारको दिन आफूले प्रहरीकै अघि सिसिटिभी फुटेजबाट फोटो खिचेको भुसालको भनाइ छ। ‘शनिबार प्रहरीकै अघि मैले सिसिटिभी फुटेजबाट फोटो खिचेको हो, अपराह्न ४ बजेतिर। त्यसबेला मेरो फोटो पनि क्यामेरामा कैद भएको होला,’ उनले भने, ‘पुलिस प्रशासनलाई नराम्रो गरौं भनेर होइन। चितवनबाट राति ल्याए पनि यहाँ छुट्टै कोठा दिएर रवि लामिछानेलाई प्रहरीले राखेको छ भनेर देखाउन खोजेको थिएँ।’
सेतोपाटीसँगको कुराकानीमा पनि निकोलसले भने, ‘मैले प्रहरीकै अगाडि रवि लामिछाने सुतिरहेको फोटो सिसिटिभीमा खिचेको हुँ, त्यतिबेला प्रहरीले केही भनेन। यस्तो होला भनेर थाहा पनि भएन, गल्ती भयो।’
रवि लामिछाने पक्राउ परेदेखि नै कास्की प्रहरीले सेवाग्राहीलाई कार्यालयभित्र प्रवेश गर्नुअघि गेटमै मोबाइल छाड्न लगाउने गरेको थियो। तर कार्यालयभित्र रहेको सिसिटिभीमा देखिएका लामिछानेको तस्बिर भुसालले खिचेका थिए।
अनुमतिबिना व्यक्ति वा सामूहिक तस्बिर खिच्दा जो कोहीलाई पनि चित्त बुझ्दैन। सहकारी ठगीलगायत विभिन्न अभियोग लागेका र लामो समयदेखि हिरासतमा रहेका लामिछानेको तस्बिर सामाजिक सञ्जालमा आउँदा रास्वपा नेता, कार्यकर्तालाई पनि निको नलागेको हुनुपर्छ।
अर्कोतर्फ अनुसन्धानमा रहेका व्यक्तिको फोटो बाहिरिन दिनु प्रहरीको कमजोरी हो भन्ने हिसाबले आलोचना पनि भएका छन्।
लामिछाने हिरासतमा सुतिरहेको तस्बिर सामाजिक सञ्जालमा भाइरल भएपछि गृहमन्त्री रमेश लेखकले पनि चासो देखाएका छन्।
उनले नेपाल प्रहरीका आइजिपी बसन्तबहादुर कुँवरलाई कास्की हिरासतमा रहेका व्यक्तिको तस्बिर सार्वजनिक भएकोबारे छानबिन गर्न निर्देशन दिएका हुन्।
‘यो विषयमा छानबिन गरी दोषी जोसुकै भए पनि कारबाहीको दायरामा ल्याउन आइजिपीलाई निर्देशन दिएको छु,’ गृहमन्त्री लेखकलाई उद्धृत गर्दै उनको सचिवालयले भनेको छ, ‘हिरासतमा रहेको दाबी गरिएको तस्बिरको विषयमा प्रहरीले अनुसन्धान गर्दैछ।’
सामाजिक सञ्जालमा आफूले हिरासतमा रहेका लामिछानेको फोटो देखेको र फेसबुकमा राखेको रास्वपा नेता बोहराको भनाइ छ। यो फोटो सामाजिक सञ्जालमा आएपछि उनले सभापति लामिछानेसँग बिहीबार बिहान भेटेका थिए।
‘एआईले बनाएको फोटो हो कि भनेर शंका भइरहेको थियो, त्यो फोटो हिरासतमा रहेका रवि दाइकै हो, त्यसमा द्विविधा छैन,’ बोहराले फेसबुक लाइभमा भने, ‘त्यो फोटो सिसिक्यामेराको हो, कसरी बाहिर आयो भन्नेमा पुलिसले छानबिन गर्नेनै छ।’
हिरासतमा रहेका लामिछानेको तस्बिर भाइरल बनेपछि जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक बसन्तकुमार शर्माले विज्ञप्ति जारी गरेका छन्।
सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरको अनुसन्धानलाई नकारात्मक प्रभाव पार्ने गरी सामाजिक सञ्जालमा उक्त तस्बिर आएको प्रहरीको भनाइ छ।
यो फोटो डा. निकोलस भुसालको फेसबुक पेजबाट पोस्ट भएको पाइएको पनि शर्माले विज्ञप्तिमा उल्लेख गरेका छन्।
‘जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासत कक्षमा सुतिरहेको अवस्थाको जस्तो अस्पष्ट देखिने तस्बिर केही दिन अगाडि सामाजिक सञ्जालमा हाल चालु रहेको सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरको तथ्यपुर्ण अनुसन्धानलाई समेत नकरात्मक प्रभाव पार्ने गरी डा निकोलस भुसाल को फेसबुक पेजबाट प्रकाशित भई प्रहरीको व्यवसायिकतामा आँच आउने किसिमले विभिन्न सामाजिक सञ्जालहरूमा सम्प्रेषण भएको अनधिकृत तस्बिरप्रति यस जिल्ला प्रहरी कार्यालय कास्कीको गम्भीर ध्यानाकर्षण भएको छ,’ उनले भनेका छन्।
सूचनाको हकसम्बन्धी ऐन, २०६४ मा व्यवस्था भएबमोजिम अपराध अनुसन्धान, तहकिकात तथा अभियोजनमा गोपनियता कायम गर्नु पर्ने व्यवस्था र प्रचलित साइबर अपराधसम्बन्धी कानूनी प्रावधानलाई समेत उल्लंघन गरी अनधिकृत रूपमा उक्त फोटो प्रकाशन तथा सम्प्रेषण भएकोले त्यसमा संलग्न रहेका जो कोहीलाई कानूनी दायरामा ल्याउने कास्की प्रहरीको भनाइ छ।
‘नेपालको संविधान एवं प्रचलित ऐन कानूनबमोजिम फौजदारी न्याय प्रणालीका मूल्य मान्यताको अनुसरण गर्दै तथ्य एवं प्रमाणमुखी अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय कास्की सदैव प्रतिवद्ध रहेको व्यहोरा अनुरोध गर्दछ,’ प्रहरीले भनेको छ, ‘गोपनियता कायम राख्नुपर्ने विषयमा संवेदनशिल रही सूचना र समाचार सम्प्रेषण गरी अनुसन्धान कार्यमा सहयोग गरिदिनु हुन सम्बन्धित सबैमा अनुरोध गरिन्छ।’
रास्वपा सभापति लामिछाने गत कात्तिक २ गते पक्राउ परेका थिए। पछिल्लो समय कास्की अदालतबाट थप चार दिनको म्याद लिएर उनलाई हिरासतमा राखिएको छ। शुक्रबारसम्म लामिछानेविरूद्ध जिल्ला अदालतमा मुद्दा पेस गर्ने तयारी छ।