नेकपा (माओवादी केन्द्र) को विद्यार्थी संगठन अनेरास्ववियु (क्रान्तिकारी) ले नेतृत्वको उमेर हदबारे निर्वाचन गर्ने भएको छ।
गत असोजमा भएको सम्मेलनमा उमेर हद लगाउने कि नलगाउने भन्नेबारे विवाद भएपछि रोकिएको नेतृत्व चयन प्रक्रिया उमेर हदबारे निर्वाचन गरेर त्यहीँबाट सुरू गर्ने निर्णय भएको हो।
निर्वाचन कमिटी र विघटित अनेरास्ववियु (क्रान्तिकारी) का पदाधिकारीको बैठकले यही पुस १० गतेसम्म उमेर हद लागु गर्ने कि नगर्ने भन्ने बारेमा मतदान गर्ने र १६ गते नेतृत्वको निर्वाचन गर्ने निर्णय गरेको विघटित अनेरास्ववियु (क्रान्तिकारी) की अध्यक्ष पञ्चा सिंहले जानकारी दिइन्।
उनले पार्टीको पदाधिकारी बैठकले विद्यार्थीको सम्मेलन जहाँ रोकिएको हो, त्यहीबाट सुरू गर्न निर्देशन दिएकाले आफूहरूले सुरूमा उमेर हद र त्यसपछि नेतृत्वको निर्वाचन गर्ने निर्णय गरेको बताइन्।
उनले पुस १० गतेभित्रमा उमेर हदको निर्वाचन सम्बन्धित जिल्लाहरूमा नै गर्ने र १६ गतेभित्रमा नेतृत्वको निर्वाचन गरिसक्ने जानकारी दिइन्।
यो पटक निर्वाचनका लागि काठमाडौंमा सम्मेलन नगर्ने र प्रतिनिधिहरूले सम्बन्धित जिल्ला कमिटीमै मतदान गर्ने सिंहले बताइन्। ७७ भौगोलिक र अरू विशेष कमिटीहरू गरेर अनेरास्ववियु (क्रान्तिकारी) का ८६ वटा कमिटी छन्।
अनेरास्ववियु (क्रान्तिकारी) ले पहिलो पटक निर्वाचन प्रक्रियाबाट दुई हजार तीन सय प्रतिनिधि छानेको थियो। निर्वाचन प्रक्रियाबाटै संगठनको नेतृत्व छान्ने भनेर भएको सम्मेलन भने उमेर हद लागु गर्ने कि नगर्ने भन्ने बारेमा विद्यार्थीहरूबीच मतभेद र कुर्सी हानाहान भएपछि रोकिएको थियो।
त्यसपछि मंसिर २३ गतेसम्मका लागि सम्मेलन स्थगित भएको थियो। उक्त सम्मेलन पनि समय नपुगेको भन्दै स्थगित भएपछि विद्यार्थी नेताहरूले निर्णय दिन पार्टी नेतृत्वलाई दवाव दिँदै आएका थिए।
अब उमेर हद लागु गर्ने पक्षमा मतदान भयो भने ३२ वर्षभन्दा मुनिका विद्यार्थी नेताहरूले नेतृत्वका लागि प्रतिष्पर्धा गर्नेछन्। त्यसो हुँदा अहिले अनेरास्ववियु (क्रान्तिकारी) को पदाधिकारीमा रहेका सबै नेताहरूले स्वतः अवकाश पाउनेछन्।
उमेरहद लागु भएन भने पदाधिकारीमा रहेका नेताहरू नै प्रतिष्पर्धा गर्नेछन्।