प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक अन्योल, अस्थिरता र भ्रष्टाचारले सीमा नाघेपछि नेकपा (एमाले) र नेपाली कांग्रेस मिलेर सरकार बनाउनु परेको बताएका छन्।
नेपाल उत्पीडित जातीय मुक्ति समाजको ३७ औं स्थापना दिवसका अवसरमा बुधबार भएको कार्यक्रममा प्रधानमन्त्री ओलीले अघिल्लो सरकारतर्फ लक्ष्य गर्दै कमिलाको आयु पुग्यो भने पखेटा पलाउँछ भने झैँ मुलुकका एमाले र कांग्रेसजस्ता पार्टी हुँदाहुँदै कस कसका के के नाँच चलेका हुन् भनेर जनताले भन्न थालेपछि स्थिरतातर्फ देशलाई फर्काउन आफूहरुले नयाँ सरकार बनाएको बताए।
‘हामी सुशासन र विकास फेरि फर्काएर मुलुकलाई गन्तव्यमा लानेछौं। हाम्रो सरकारलाई सराप्नेहरू पनि नभएका होइनन्। सरकार अहिले ढल्छ, भरे ढल्छ भनेर धारे हात लगाउनेहरु छन्,’ उनले भने, ‘यी दुई पुराना पार्टीले समाज सुधारको यात्रा सञ्चालन गर्दै आएक छन्। राजाका पालामा अनेक मुद्दा मामिला लगाएर जनतालाई फसाउने, जातीय विद्वेष फैलाउने काम भएका थिए। हामी मानिस हौँ र मानिस भनेको सबै बराबर हुन्छ। जातपात भन्ने नचाहिने कुरा हो। यसको अन्त्यका लागि हामी विद्यमान कानुनमा आवश्यक संशोधनका लागि पनि लाग्नेछौं।’