नेकपा (एमाले) का सांसदसमेत रहेका सहकारीसम्बन्धी संसदीय विशेष छानबिन समितिका संयोजक सूर्य थापाले गोर्खा मिडियाका तत्कालीन प्रबन्ध निर्देशकसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सहकारीको बचत अपचलनका विषयमा उन्मुक्ति नपाउने बताएका छन्।
मंगलबार रिपोर्टर्स क्लबमा भएको पत्रकार सम्मेलनमा बोल्दै थापाले 'गोर्खा मिडियाका मालिकले मैले जान्दिनँ, मैले बुझिनँ, मलाई थाहा थिएन भनेर उन्मुक्ति नपाउने' पनि बताए।
‘सहकारीको रकम एक पैसा पनि लिन नपाइने ठाउँमा गोर्खा मिडिया नेटवर्कमा रकम ल्याउने, रजगज गर्ने, मासिक पाँच लाख तलब लिने, ७५ लाख सेयर हाल्ने, फेरि एक करोड ८० लाख सेयर हाल्ने यो सबै कुरा कसले गरेको?,’ थापाले भने, ‘१५ प्रतिशत सेयरको मालिक र प्रबन्ध निर्देशक नभएको भए रवि लामिछानेले पनि विपिनकुमार आचार्यलेजस्तो उन्मुक्ति पाउनुहुन्थ्यो।’
लामिछानेप्रति लक्ष्य गर्दै थापाले सहकारीको रकम ल्याएर खाएको बताए।
‘सहकारीको रकम ल्याएर खाएपछि ठगीमा संलग्न हो कि उन्मुक्ति हो?,’ उनले प्रश्न गरे, ‘खाएको त हो नि त, हजम गरेको।’
गोर्खा मिडियाअन्तर्गत ग्यालेक्सी टिभीबाट पारिश्रमिक लिएको हिसाबले कसैलाई कारबाही सिफारिस नगरिएको पनि थापाले बताए।
‘पारिश्रमिक लिएको हिसाबले क्रियटिभ डाइरेक्टर विपिनकुमार आचार्यलाई हामीले कारबाही सिफारिस गरेका छौं? ग्यालेक्सी टेलिभिजनका कर्मचारी र सञ्चारकर्मी सबैको पारिश्रमिक सिट प्रतिवेदनमा राखिदिएको छ। तिनलाई कारबाही सिफारिस गरेको छैन, जो मालिक हो तिनलाई कारबाही सिफारिस गरिएको छ,’ समिति सभापति थापाले भने, ‘मालिकले मैले जानिनँ, मैले बुझिनँ, मलाई थाहा थिएन भनेर उन्मुक्ति कसैले पाउँदैन।’
रवि लामिछानेले मंसिर २७ गते कास्की जिल्ला अदालतको इजलासमा बोलेका कुरामा पनि थापाले टिप्पणी गरेका छन्।
त्यस दिन लामिछाने सहकारी ठगीसम्बन्धी संसदीय छानबिन समितिका सभापति थापाविरूद्ध खनिएका थिए। थापाले मिडियामा बोलेअनुसार नै अनुसन्धान भइरहेको लामिछानेको भनाइ थियो।
‘संसदीय समितिका सभापतिले मिडियाबाजी गरेर जे-जे बोल्दै हिँड्नुभएको छ, त्यही स्किृप्ट अनुसार फिल्मको छायाङ्कन भइरहेको छ। अहिले मध्यान्तरसम्म आइपुग्दा त्यस्तै देखियो,’ लामिछानेले भनेका थिए।
लामिछानेको उक्त अभिव्यक्तिप्रति मंगलबार आयोजित पत्रकार सम्मेलनमा थापाले भने, ‘रविजीले इजलासमा पनि बोल्नु भएछ, उहाँ त बुझ्ने मान्छे हो, उपप्रधान तथा गृहमन्त्री भएको। इजलासमा छानबिन विशेष समितिका सभापतिको स्कृिप्ट अनुसार मैले दु:ख पाएको छु भन्नु भएछ। मेरा कारणले होइन, मंगले आफ्नै ढंगले हो।’
तथ्य भेटे आफूले कसैलाई नछाड्ने र तथ्य नभएसम्म कसैलाई दु:ख दिने काम आफूबाट नहुने उनले बताए।
यो पनि:
सूर्य थापालाई प्रश्न: तपाईंको प्रतिवेदन जम्माजम्मी रविमाथि कारबाहीमा सीमित भयो होइन? (अडिओ)
रविले न्यायाधीशलाई भने– राज्यले मलाई खेदेको छ, छाडिदिए गर्व हुनेछ