प्रधानमन्त्री केपी शर्मा ओलीले ललितपुर महानगरपालिकाको प्रशंसा गरेका छन्।
मंगलबार ललितपुर महानगरपालिकाको १०६ औं स्थापना दिवसको अवसरमा आयोजित समारोहमा प्रधानमन्त्री ओलीले ललितपुर महानगरमा भौतिक प्रगतिदेखि कर्मचारीहरूसम्मको प्रशंसा गरेका हुन्।
उनले अरू ठाउँमा पहेँलो/रातो बल्ने ट्राफिक लाइट नै बाल्न गाह्रो भइरहेको बेला ललितपुरले इन्टेलिजेन्ट ट्राफिक लाइट सुरू गरेकोमा प्रशंसा गरे।
'यो २/४ वर्षअगाडिसम्म सुन्न पनि नपाइने शब्द हो। यहाँ ट्राफिक लाइटको रातो/पहेँलो बाल्न त गाह्रो थियो। ललितपुरले सुरू गरिसक्यो,' प्रधानमन्त्री ओलीले भने।
प्रधानमन्त्री ओलीले ललितपुरको महानगर प्रहरीले गरिबका तरकारी फालेको नसुनेको र नदेखेको पनि बताए।
'ललितपुर प्रहरीले अर्कै लोकको मान्छे आएको जसरी गुर्रर्र.. जिपमा आयो। झ्याप्प गाडी रोकेर, गन्द्र्ंग फाल हानेर पिरपिर सिठ्ठी बजाउँदै आतंक छाउँदै। यता फाल्दै, उता फाल्दै। ठेला फाल्दै, गरिबका तरकारी, टमाटर फाल्दै त्यस्तो गरेको मैले देखेको छैन,' उनले भने।
यसका लागि प्रधानमन्त्री ओलीले ललितपुर महानगरका प्रहरीलाई धन्यवाद पनि दिए।
'तपाईंहरू आतंकको पर्याय होइन। तपाईंहरू जनताका लागि त्रास फिजाउने होइन। तपाईंहरूलाई देख्दा जनताले सुरक्षित महशुस गर्नुपर्छ। जनताले हाम्रा रक्षकहरू आए भन्ने ठान्नुपर्दछ,' उनले भने, 'लौ आयो! कता भागौं, के गरौं! यस्तो हुनुहुँदैन। कोही घडी फुकालेर खल्तीमा लुकाउन थाल्ने, कोही सिक्री लुकाउन थाल्ने। यस्तो अवस्था नहोस्।'
प्रधानमन्त्री ओलीले महानगरले यी लगायत अरू विषयमा उल्लेख्य प्रगति गरेको बताए।
उनले राज्यको कोषबाट अलिकति पनि पारिश्रमिका खाने मान्छेले आफू जनताको सेवक हुँ भन्ने बुझ्नुपर्ने बताए।
'हाकिम हुँ भन्ने कुरा बिर्सनुपर्छ। विभिन्न तहका जिम्मा लिएको होला तर जनताको सेवक हो। घमण्ड पस्नुहुँदैन। घमन्ड पस्यो कि त्यसले अरू चिजलाई पस्न दिँदैन,' उनले भने।