प्रधानमन्त्री केपी शर्मा ओलीले व्यवस्थासँगै अवस्था पनि बदलिएको बताएका छन्।
मंगलबार ललितपुर महानगरपालिकाको स्थापना दिवस समारोहमा बोल्दै प्रधानमन्त्री ओलीले व्यवस्था बदलिए पनि अवस्था बदलिएन भनेर चर्चा गरिने भनाइ गलत रहेको दाबी गर्दै जनताको अवस्था पनि बदिलिएको बताएका हुन्।
'व्यवस्था पनि बदलियो, अवस्था पनि बदलियो,' उनले भने, 'हिजो ४२ प्रतिशभन्दा बढी जनता निरपेक्ष गरिबीको रेखामुनी थिए। थोरै होटल थिए। बाटोको अवस्था कस्तो थियो हिजो? जनताको आम्दानीको स्तर के थियो?'
यसअघि आफूले प्रधानमन्त्रीबाट छाड्दा निरपेक्ष गरिबीको रेखामुनीमा रहने जनता १७ प्रतिशतमा झारिएको उनले बताए।
'यो तीन वर्षको बीचमा ३ प्रतिशतभन्दा बढीले बढ्यो, अहिले २० प्रतिशत पुगेको छ। तर यस्ता केही नकारात्मक प्रवृत्ति देखिए पनि आम रूपमा देशको अवस्था र जनताको अवस्था हिजोकै जस्तो छैन,' प्रधानमन्त्री ओलीले भने।
'यसैगरी मोटरसाइकल थिए हिजो? यसैगरी बाटामा जाममा फस्नुपर्ने गरी गाडी थियो हिजो? यस्तो थिएन,' प्रधानमन्त्री ओलीले भने।
सदरमुकाम जोड्ने सडककहरूलाई फराकिलो बनाइएकोले पनि आजको स्थिति हिजोको जस्तो नरहेको प्रधानमन्त्री ओलीले बताए। 'नयाँ हाइवे बनाएका छौं, भएका हाइवेलाई स्तरोन्नति गरेका छौं,' उनले भने।
केही उद्योग बन्द भए पनि उद्योगको संख्या बढेको पनि उनले बताए। त्यस्तै व्यवस्था परिवर्तन भएपछि निर्यात पनि बढेको उनको भनाइ छ।