नेकपा (माओवादी केन्द्र) ले मंसिर १६ गते भएको स्थानीय तह उपनिर्वाचनको परिणाम उत्साहजन रहेको निष्कर्ष निकालेको छ।
मंसिर २८ गते बसेको स्थायी कमिटी बैठकमा अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले उपनिर्वाचनको परिणामले माओवादीको पक्षमा जनमत बढेको पुष्टि भएको बिफ्रिङ गरेका थिए।
४४ स्थानका लागि भएको उपनिर्वाचनमा माओवादीले ११ स्थान जितेको थियो। उपनिर्वाचन भएका ४४ स्थानमध्ये ८ स्थान पहिले माओवादीले जितेका ठाउँ थिए।
सोही बिफ्रिङको आधारमा माओवादीले तल्ला कमिटीहरूलाई पठाएको सर्लुकरमा आफूहरूको उपस्थिति उत्साहजन भएता पनि कांग्रेस र एमालेको जनमत खस्किएको उल्लेख छ।
‘स्थानीय उपनिर्वाचनमा उत्साहजनक परिणाम प्राप्त भएको छ र हाम्रो पार्टीको पक्षमा जनमत गुणात्मक रूपले बढ्दै गएको देखिएको छ,’ सर्कुलरमा भनिएको छ, ‘कयौं स्थानमा कांग्रेस र एमालेको गठबन्धनका साथै राज्यशक्तिको चरम दुरूपयोगका बावजुद ती पार्टीको जनमत ह्रासउन्मुख अवस्थामा देखिएको छ।’
माओवादीले गत उपनिर्वाचनमा आफ्नो पार्टी पंक्ति एकताबद्ध देखिएको उल्लेख गरेको छ। त्यसैको कारण निर्वाचनको परिणामा आफूहरूको पक्षमा आएको माओवादीको निष्कर्ष छ।
‘हरेक स्थानमा नेतृत्व तहका कमरेडहरू समेतको क्रियाशिलताले निर्वाचनलाई परिणाममुखी बनाउन सफल रहेको देखिन्छ,’ अध्यक्ष प्रचण्ड र महासचिव देवप्रसाद गुरूङले पठाएको ६ बुँदे सर्कुलरमा उल्लेख छ, ‘यी उपलब्धिका अलावा पनि पूर्व–विजय प्राप्त गरेका केही स्थानहरू गुम्नु, निर्वाचनको लागि सिङ्गो पार्टी पङ्तिलाई परिचालन गर्ने विषयमा सीमा रहनु, निर्वाचनको लागि आवश्यक सवै पक्षहरूको प्रचुर प्रयोग गर्ने लगायतका विषयमा केही सीमा कमीकमजोरी पनि रहन गएका छन्।’
माओवादीले संगठनलाई विस्तार र व्यवस्थित रूपमा परिचालन गर्ने, जनसंगठनहरूलाई व्यापक रूपमा विस्तार गर्ने, पार्टीको नेतृत्व, पार्टीको सही विचार र नीतिगत कार्यसूचीहरूलाई दह्रोसँग स्थापित गर्न पार्टी पंक्तिलाई निर्देशन दिएको छ।
यसै पार्टी एकतामा आएकाहरू पुराना पार्टीको जिम्मेवारी अनुसार नै जिम्मेवारी दिने निर्णय पनि माओवादी केन्द्रले गरेको छ।
‘विगतमा एकीकरण/समायोजन/पार्टी प्रवेश भएका कतिपय कमरेडहरूको सन्दर्भमा सांगठनिक जिम्मेवारी व्यवस्थापनमा उपेक्षा भएको भनि आएका गुनासोलाई ध्यानमा राखी एकीकरण/समायोजन/प्रवेश हुँदाका बखत स्थापित बाम घटकहरूमा जुन-जुन स्तरमा कार्यरत रहेको थियो सोही स्तरमा समायोजन गर्ने र गैर वाम घटकहरूबाट पार्टी प्रवेश हुँदा सम्बन्धित पार्टी समितिहरूको निर्णयअनुसार समायोजन गर्ने निश्चित गरिएको छ,’ सर्कुलरमा उल्लेख छ।
यस्तो छ सर्कुलर: