नेकपा (एमाले)को कपिलवस्तु-काठमाडौं मञ्चले भूमी व्यवस्था तथा सहकारी मन्त्री बलराम अधिकारीलाई भेट्न नपाएको भन्दै असन्तुष्टि जनाएको छ।
एमालेको कपिलवस्तु-काठमाडौं सम्पर्क मञ्चका अध्यक्ष सुनिल भट्टराईले विज्ञप्ति जारी गर्दै सोमबार (हिजो) मन्त्रालयमा चार घन्टा कुर्दा पनि मन्त्री अधिकारीले बेवास्ता गरेको भन्दै दुःख व्यक्त गरेका हुन्।
चार घन्टा कुर्दा पनि भेट नदिएर मन्त्री अर्कै ढोका प्रयोग गरी बाहिरिएको अध्यक्ष भट्टराईले विज्ञप्तिमा उल्लेख गरेका छन्।
'हामी मन्त्रालय पुगेर ४ घण्टा सम्म प्रतीक्षा गर्दा पनि बेवास्ता गरियो। तथापि माननीय मन्त्री ज्यूको व्यवहार र वहाँको सचिवालयद्वारा भएको व्यवहार प्रति सम्पर्क मञ्च दुःख र खेद प्रकट गर्दछ,' विज्ञप्तिमा भनिएको छ।
अधिकारीले भेटको उद्धेश्य हालै सम्पन्न पालिका सम्मेलनको अपेक्षाकृत सफलता हासिल हुन नसकेको र संगठनको स्थिति दिनानूदिन कमजोर हुँदै गएको विषयमा छलफल गर्नू रहेको पनि बताएका छन्।
'संगठनको स्थायित्व र प्रगतिका लागि समयमै सहकार्य र समन्वय अत्यावश्यक छ। तर, यस्तो ढिलासुस्ती र आवश्यक विषयमा संवादको अभावले कार्य योजनामा नकारात्मक प्रभाव पर्न गएको महसुस भएको छ,' विज्ञप्तिमा भनिएको छ।
मञ्चले यस परिस्थितिमा, संगठनलाई सबल र प्रभावकारी बनाउन आवश्यक छलफल र मार्गदर्शनका लागि मन्त्री अधिकारीको ध्यानाकर्षण पनि गराएका छन्।