नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन 'अनन्त' ले चार महिनासम्म भारत जाने प्रयास सफल नभएपछि प्रधानमन्त्री केपी ओली चीन भ्रमणमा गएको बताएका छन्।
माओवादी केन्द्र जलजला गाउँपालिका, पर्वतको तेस्रो अधिवेशन उद्घाटन गर्दै पुनले भारत र चीन दुवैसँग सन्तुलित सम्बन्ध कायम गरेर उनीहरूको आर्थिक विकासबाट नेपालले आर्थिक लाभ लिन सक्ने उल्लेख गरे।
प्रधानमन्त्री चीन भ्रमणमा गएको विषयमा नभई पहिला भारत जाने प्रयास असफल भएपछि उसलाई देखाइदिने मनसाय बोकेर चीन गएकामा आफूहरूले आपत्ति जनाएको पुनको भनाइ थियो।
पूर्ववर्ती पुष्पकमल दाहाल सरकारले सन्तुलित परराष्ट्र नीति अपनाएर चीनसँग ठूला विकास परियोजनामा सहयोग लिएको र भारतमा १० हजार मेगावाट विद्युत निर्यातसम्बन्धी समझदारी गरेको स्मरण पुनले गरे। तर, वर्तमान सरकारले छिमेकीहरूका बीचमा असन्तुलित सम्बन्ध राख्न खोजेकाले आफ्ना अध्यक्ष प्रचण्डले खबरदारी गरेको पुनले उल्लेख गरे।
'विश्वको राजनीति बहुध्रुवीयबाट व्यवस्थातिर गइरहेका बेला मुलुकको कूटनीति सञ्चालन गर्दा कतैतिर नढल्किने गरी परराष्ट्र नीति सञ्चालन गर्नुपर्नेमा वर्तमान सरकारले असन्तुलित नीति अपनाएको छु,' पुनले भने, 'चार महिनासम्म लगातार प्रयास गर्दा पनि भारतले नबोलाएपछि हारगुहार गरेर प्रधानमन्त्री केपी ओली चीन जानुभयो। एकातिर ढल्किन खोज्ने, अनि नपत्याएपछि उसलाई देखाइदिन अर्को छिमेकीतिर ढल्किने तरिकाले हाम्रो राष्ट्रिय स्वाधिनता कमजोर बनाउँछ। चीन र भारतका बीचमा खेलेर होइन, दुवैसँग सहयोग लिने र सन्तुलन कायम गर्न जोड दिइनुपर्छ भन्ने हाम्रो मान्यता हो।'
पुनले ओलीलाई चीनले निम्ता नदिए पनि भारतलाई देखाउने नाममा पटक/पटक अनुनय विनय गरेर बोलाउन लगाएको दाबी गरे।
प्रधानमन्त्री ओलीले गत मंसिर १७ देखि २० गतेसम्म उत्तर छिमेकी चीनको औपचारिक भ्रमण गरेका थिए।
पुनले भ्रष्टाचारी जोगाउन बिचौलियाहरूले कांग्रेस र एमाले मिलाएर वर्तमान सरकार बनाएको भन्ने आफूहरूको आरोप घटनाक्रमहरूले पुष्टि गरेको दाबी गरे।
दायाँ/बायाँ आधा दर्जन बढी भ्रष्टाचार र अनियमिततामा मुछिएका मन्त्रीहरूले घेरिएर आफू पनि भ्रष्टाचार नगर्ने र अरूलाई पनि गर्न नदिने भाषण बन्द गर्न प्रधानमन्त्री ओलीलाई आग्रह गरे।
अगाडि फर्किएर भ्रष्टाचारीको मुख हेर्दिनँ भन्ने ओलीलाई दायाँ/बायाँ उभिएका आफ्ना मन्त्रीका अनुहार हेर्न उनले सुझाए। ओली र काँग्रेस सभापति शेरबहादुर देउवाको उठबस बिचौलिया र अनियमितता गर्ने स्वार्थ समूहसँग रहेको आरोप उनले लगाए।