नेपाली कांग्रेसले काठमाडौं महानगरपालिकाका पूर्वमेयर पिएल सिंहको शोकमा देशभरका पार्टी कार्यालयहरुमा आधा झन्डा झुकाउने निर्णय गरेको छ।
सोमबार बसेको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठकले सिंहको शोकमा पुस १,२ र ३ गते पार्टी केन्द्रीय कार्यालय, प्रदेश कार्यालय र सबै जिल्ला कार्यालयहरूमा आधा झन्डा झुकाउने निर्णय गरेको कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।
कांग्रेसका पूर्व केन्द्रीय सदस्यसमेत रहेका पिएल सिंहको गएराति चाक्सीबारीस्थित निवासमै निधन भएको थियो।
केन्द्रीय कार्यसमितिको आकस्मिक बैठकले मंगलबार केन्द्र, प्रदेश र जिल्ला कार्यालयहरू बन्द गर्ने निर्णय पनि गरेको छ।
त्यस्तै १३ औं दिनमा सम्बन्धित जिल्ला काठमाडौंमा शोक सभा आयोजना गर्ने निर्णय भएको पनि मुख्यसचिव पौडेलले जानकारी दिए।
सिंहले लामो समयदेखि सर्वोच्च नेता गणेशमान सिंहको निकटमा रहेका काम गरेका थिए। प्रजातन्त्र पुनस्र्थापनापछिको २०४९ को स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट उनी काठमाडौं नगरपालिकाको पहिलो नगर प्रमुखमा निर्वाचित भएका थिए।
उनकै पहलमा वि.सं. २०५२ मा काठमाडौं नगरपालिकालाई महानगरपालिका घोषणा गरिएको थियो। २०५६ मा कांग्रेस केन्द्रीय कार्यसमिति सदस्य भएका थिए।