कास्कीको पोखरास्थित सूर्यदर्शन सहकारीको बचत रकम अपचलनको मुद्दा दर्ता गर्ने समय नजिकिँदैछ।
अब केही दिनमा सरकारी वकिलको कार्यालय कास्कीले जिल्ला अदालत कास्कीमा मुद्दा दर्ता गर्नुपर्ने कानुनी बाध्यता छ। त्यसका लागि जिल्ला प्रहरी कार्यालय कास्की र सरकारी वकिलको कार्यालयले पनि निरन्तर काम गरिरहेको छ।
कास्की प्रहरी प्रमुख एसपी श्याम ओलियाले सोमबार नै रवि लामिछानेविरूद्धको प्रतिवेदन बुझाउने गरी तयारी गरिरहेको बताए।
‘प्रतिवेदन बुझाउन तयारी हुँदैछ। अहिले काम भइरहेको छ,’ उनले भने। यता सरकारी वकिलले पनि अभियोजनका लागि काम गरिरहेको बताएको छ।
सहायक जिल्ला न्यायाधिवक्ता शान्तिदेवी शर्माले आफूहरू निरन्तर काम गरिरहेको बताइन्।
‘राति पनि कार्यालयमै बसेर काम गरिरहेकै छौं। अनुसन्धानको प्रकृति हेर्दा धेरै ठूलो हुने भएकाले पनि समय धेरै लागेको छ,’ उनले भनिन्।
अहिले प्रहरी हिरासतमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, पूर्वडिआइजी छविलाल जोशी, नेचर्स हर्ब्सका पूर्वसञ्चालक रामप्रसाद खनाल र लिला पछाई छन्। अहिले पुरक जाहेरीको आधारमा प्रहरीले अनुसन्धान अघि बढाएको हो।
गत वर्ष माघ २२ गते दिएको पुरक जाहेरीको आधारमा प्रहरीले अनुसन्धान गरेको थियो।
अनुसन्धानबाट पहिलो चरणमा प्रतिवादी बनाइएका र दोस्रो चरणमा थपिएकालाई समेत समेटेर अनुसन्धान प्रतिवेदन प्रहरीले बुझाउनेछ।
यसपटक भने प्रहरीले सहकारी बचत रकम अपचलनसँगै संगठित अपराध र सम्पत्ति शुद्धीकरणमा पनि अनुसन्धान भइरहेको हो।
संगठित अपराधमा ६० दिन र सम्पत्ति शुद्धीकरणमा ९० दिन हिरासतमा राख्न पाइने कानुनी व्यवस्था छ। यही कसुरमा सरकारी वकिलले अदालतबाट म्याद लिएर प्रहरीले अनुसन्धान गर्दै आएको हो।
हाल प्रहरीको हिरासतमा रहेका चार जनालाई म्याद थप गर्न मंगलबार अदालतमा उपस्थित गराउनुपर्ने छ।
तर सरकारी वकिलले भ्याए मंगलबार नै अदालतमा मुद्दा पेस गर्नेगरी काम गरिरहेको पनि सहायक जिल्ला न्यायाधिवक्ता शर्माले बताइन्।
‘सम्भव भएसम्म हामीले म्याद थप नगरेर मुद्दा नै पेस गर्नेगरी काम गरिरहेका छौं। तर कुनै कारणवश: सम्भव नभएमा म्याद थप्नुपर्नेहुन्छ,’ उनले भनिन्।
पूरक अनुसन्धानमा प्रहरीले सुरूमा असोज ६ गते पूर्वडिआइजी छविलाल जोशीलाई पक्राउ गरेको थियो। त्यही दिनदेखि ९० दिनको समयसीमा गणना हुन्छ। त्यसअनुसार सरकारी वकिलसँग आउँदो शुक्रबार (पुस ५) गतेसम्मको समय छ। असोज ९ गते लिला पछाईंलाई प्रहरीले पक्राउ गरेको हो।
रवि लामिछानेलाई केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले कात्तिक २ गते काठमाडौंस्थित पार्टी कार्यालयबाट पक्राउ गरी पोखरा लगिएको थियो। त्यस्तै, रामप्रसाद प्रहरीले कात्तिक ९ गते पक्राउ गरेको थियो।
लामिछानेसहित प्रतिवादीहरूविरूद्ध चितवन, रूपन्देही, पर्सा र काठमाडौंमा पनि अनुसन्धान जारी नै छ। चितवनमा सहारा सहकारी, रूपन्देहीको सुप्रिम सहकारी, पर्साको सानोपाइला र काठमाडौंको स्वर्णलक्ष्मीको बचत रकम अपचलनमा अनुसन्धान भइरहेको हो।
यी सहकारीबाट गोर्खा मिडिया प्रालि र नेचर्स हर्ब्स लगायतमा ऋण गएको र ती रकम अपचलन भएको देखिएको हो।
सहकारी संस्था बचत रकम दुरूपयोगको संसदीय विशेष छानबिन समितिले लामिछानेसहित विभिन्न व्यक्तिहरूमाथि अनुसन्धान गर्न सुझाव दिएपछि प्रहरीले अनुसन्धान अघि बढाएको हो। समितिले भदौ ३१ गते प्रतिनिधि सभाको बैठकमा प्रतिवेदन पेस गरेको थियो।
सरकारको मन्त्रिपरिषद बैठकले त्यसलाई कार्यान्वयन गर्ने निर्णय गरेसँगै प्रहरीले थप अनुसन्धान अघि बढाएको थियो।